Techie IT
२०८३ जेष्ठ १९, मंगलबार

दिल्लीमा रविको गर्जन, आईआईटी र एम्सदेखि आईपीएलसम्म ८ प्रस्ताव


पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक विवाद र तनावबाट बाहिर निकालेर 'विकास कूटनीति'का आधारमा अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन् ।

मङ्गलबार भारतको प्रतिष्ठित दैनिक पत्रिका ‘द हिन्दुस्तान टाइम्स’ मा प्रकाशित आफ्नो विशेष लेखमार्फत् सत्तारुढ दलका सभापति लामिछानेले नेपाल–भारत सम्बन्धको अब शब्दावली नै परिवर्तन गर्नुपर्ने तर्क अघि सारेका हुन् । उनले कूटनीतिक नियोगहरूलाई केवल राजनीतिक सम्पर्क केन्द्र मात्र नबनाई लगानी, व्यापार, ऊर्जा र आर्थिक सहकार्यको ‘इन्जिन’ का रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा भएको हालैको राजनीतिक परिवर्तनलाई ‘ब्यालट बक्स क्रान्ति’ को संज्ञा दिँदै उनले रास्वपाको उदयलाई पुरानो राजनीतिक संरचनामाथिको चुनौतीका रूपमा व्याख्या गरे । नयाँ पुस्ताले विकास, सुशासन र प्रत्यक्ष जवाफदेहितामा आधारित राजनीति रोजेको दाबी गर्दै उनले ‘आकांक्षी नेपाल र उदीयमान भारतले सम्बन्धलाई कसरी पुनः जोड्न सक्छन् ?’ शीर्षकको लेखमार्फत् सहकार्यका प्रमुख ८ प्रस्ताव अघि सारेका छन्:

१. संवादबाटै सीमा विवादको समाधान
नेपाल–भारत सम्बन्धको मुख्य आधार आपसी विश्वास हुनुपर्ने बताउँदै लामिछानेले सीमा लगायतका विवादलाई अल्झाइराख्न नहुने उल्लेख गरेका छन् । उग्र राष्ट्रवादी नाराबाजी र भाषणको आलोचना गर्दै उनले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवादमार्फत विवाद सुल्झाउनुपर्ने धारणा व्यक्त गरे । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा व्यक्त गरेको ‘नेपाल–भारत सीमा अवरोध होइन, पुल बन्नुपर्छ’ भन्ने भनाइ स्मरण गर्दै उनले सम्बन्धलाई विगतका आशङ्काले नभई साझा भविष्यका सम्भावनाले परिभाषित गर्नुपर्ने बताए ।

२. रक्सौल–काठमाडौँ रेलमार्गलाई प्राथमिकता
लामिछानेले नेपाल–भारत सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण आर्थिक परियोजनाका रूपमा प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गलाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताएका छन् । भारतले दैनिक करिब १५ किलोमिटर रेलमार्ग निर्माण गरिरहेको सन्दर्भ जोड्दै उनले १५० किलोमिटरभन्दा कम दूरीको यो परियोजना सम्पन्न भए व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने उल्लेख गरे । नेपालले केवल सीमा मात्र नभई रेलमार्फत सम्पूर्ण अर्थतन्त्र जोड्न चाहेको उनको भनाइ छ ।

३. पोखरा र लुम्बिनीबाट सीधा हवाई उडान
हवाई सम्पर्क विस्तारको नयाँ एजेन्डा अघि सार्दै लामिछानेले नेपालका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय सहरहरूमा सीधा उडान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

४. ‘काठमाडौँ–बेङ्गलुरु डिजिटल करिडोर’
सूचना प्रविधि (IT) क्षेत्रमा सहकार्य बढाउन उनले ‘काठमाडौँ–बेङ्गलुरु डिजिटल करिडोर’ निर्माणको नयाँ अवधारणा अघि सारेका छन् । डिजिटल भुक्तानी, फिनटेक र सीमापार डिजिटल प्लेटफर्ममार्फत दुवै देशका साना तथा मझौला उद्यमीलाई सशक्त बनाउन सकिने उनको विश्वास छ ।

५. भारतीय शैक्षिक तथा स्वास्थ्य संस्थाको नेपाल विस्तार
नेपालको युवा जनशक्ति, स्वच्छ ऊर्जा र डिजिटल पूर्वाधारलाई भारतीय प्रविधि क्षेत्रसँग जोड्नुपर्नेमा जोड दिँदै उनले भारतका आईटी कम्पनी, स्टार्टअप र विश्वविद्यालयलाई नेपालमा नवप्रवर्तन प्रयोगशाला र प्रविधि हब स्थापना गर्न आह्वान गरेका छन् । यसैगरी, नेपालमा ‘इन्डियन इन्सटिच्युट अफ टेक्नोलोजी’ (IIT) र ‘अल इन्डिया इन्सटिच्युट अफ मेडिकल साइन्सेस’ (AIIMS) जस्ता प्रतिष्ठित संस्थाहरू स्थापना गर्न सकिने उनको प्रस्ताव छ ।

६. सीमा क्षेत्रमा रासायनिक मल उद्योग
भारतको गुजरात राज्यको औद्योगिक विकासबाट प्रेरणा लिँदै लामिछानेले नेपाल–भारत सीमा क्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न तत्काल सहकार्यको प्रस्ताव गरेका छन् । यो प्रस्ताव केवल उद्योग स्थापना मात्र नभई नेपाल–भारत सम्बन्धलाई कृषि उत्पादन, आपूर्ति शृङ्खला र आर्थिक विकाससँग जोड्ने सोचको हिस्सा भएको उनले स्पष्ट पारेका छन् ।

७. जलविद्युत् र एकीकृत ऊर्जा बजार
नेपालको प्रचुर जलविद्युत् क्षमता भारतको बढ्दो ऊर्जा आवश्यकताको स्वच्छ स्रोत बन्न सक्ने औँल्याउँदै लामिछानेले खण्डित सीमापार व्यापारको सट्टा एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्ने बताएका छन् । साथै, आधुनिक डिजिटल एकीकृत जाँच चौकी (ICP), सहज ट्रान्जिट प्रणाली र व्यापारिक अवरोधहरू हटाउनुपर्नेमा उनको जोड छ ।

८. खेलकुद सहकार्य: आईपीएलमा नेपाली खेलाडी र रङ्गशाला
नेपाल–भारत सम्बन्धलाई राजनीति र कूटनीतिमा मात्र सीमित नराखी खेलकुदसम्म विस्तार गर्नुपर्ने उनको धारणा छ । हालै सम्पन्न आईपीएल (IPL) फाइनलको प्रसङ्ग उल्लेख गर्दै उनले भविष्यमा नेपाली खेलाडी मात्र नभएर नेपाली रङ्गशालासमेत आईपीएलको फ्रेन्चाइज संरचनासँग जोडिन सक्ने सम्भावना औँल्याएका छन् । यसका साथै जनकपुर, लुम्बिनी, बोधगया र हिमाली क्षेत्रलाई जोड्ने साझा पर्यटन सर्किट निर्माण गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने उनले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट