केन्द्रीय कमिटी बैठकअघि एमाले सचिवालयको आकस्मिक बैठक बस्दै
नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक जारी रहेकै बेला आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने भएको छ । सचिवालय बैठक सकिएलगत्तै दिउँसो १२:३० बजेदेखि केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ।
प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव सचिवालय बैठकबाट पारित गरी केन्द्रीय कमिटीमा पेस गर्ने प्रयोजनका लागि यो बैठक डाकिएको हो। एमालेको ११औँ महाधिवेशन सम्पन्न भए पनि हालसम्म केन्द्रीय कमिटीको कार्यविभाजन टुङ्गो लाग्न सकेको थिएन।
आज बस्ने सचिवालय बैठकले स्थायी कमिटी र पोलिटब्यूरो सदस्यहरूलाई पूर्णता दिनेछ। यसका साथै, विभिन्न विभागहरूलाई पूर्णता दिने तथा विभिन्न भौगोलिक एवं गैरभौगोलिक कमिटीहरूमा सहइञ्चार्जहरू तोक्ने बैठकको मुख्य कार्यसूची रहेको छ। साथै, गत निर्वाचनको समीक्षा प्रतिवेदनमा आएका सुझावहरूको आधारमा केही पार्टी कमिटी र जनसंगठनहरूको विषयमा समेत बैठकमा छलफल हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस