मदन भण्डारीको युग र अहिलेको समाज फरक छ, पुरानो शैलीले एमाले चल्दैन: नेता पाण्डे
नेकपा (एमाले)का पूर्वउपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै व्यापक पुनर्संरचना र डिजिटल रूपान्तरणको आवश्यकता औँल्याएका छन्। बदलिँदो राजनीतिक तथा प्रविधिगत परिवेशअनुसार एमालेको परम्परागत कार्यशैलीमा आमूल परिवर्तन (Overhaul) गर्नुपर्ने उनको भनाइ छ।
बुधबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले पार्टीको खस्किँदो चुनावी नतिजाले नेतृत्व र संगठन दुवैलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए। विगतमा बलियो संसदीय उपस्थिति रहेको एमाले अहिले कमजोर रक्षात्मक अवस्थामा पुगेको उल्लेख गर्दै उनले पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली अपरिहार्य रहेको धारणा राखेका छन् ।
पार्टीभित्रको आन्तरिक संगठनात्मक कमजोरीलाई निर्धक्क रूपमा उजागर गर्दै पाण्डेले भने, “कतिपय निर्वाचन क्षेत्रमा पार्टी सदस्यको संख्याभन्दा पनि कम मत प्राप्त भएको लज्जास्पद अवस्था देखिएको छ। त्यसैले अब सदस्यता वितरणदेखि वडा हुँदै केन्द्रसम्मका कमिटी निर्माण प्रक्रियामाथि नै निर्मम पुनरवलोकन गर्नुपर्छ।”
अबको युग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रविधिको भएको चर्चा गर्दै उनले एमालेलाई परम्परागत ‘फिजिकल’ संरचनाबाट तत्काल डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। पुरानो र आउटडेटेड (Outdated) शैलीका संगठनात्मक गतिविधिले मात्र अबको राजनीतिक प्रतिस्पर्धामा टिकिरहन सम्भव नहुने उनको तर्क थियो।
पाण्डेले समाज निरन्तर परिवर्तनशील रहेको र त्यसअनुसार पार्टीका विचार, नेतृत्व विकासको शैली तथा संगठनात्मक संस्कृतिमा समयानुकूल सुधार आवश्यक पर्ने स्पष्ट पारे। जननेता मदन भण्डारीको समयदेखि अहिलेसम्म विश्व र नेपाली समाजमा ठूलो परिवर्तन आइसकेकाले पार्टीले समयको पदचापलाई पक्रिएर आफूलाई बदल्नुपर्ने धारणा उनले राखे।



तपाईको प्रतिक्रिया दिनुहोस