Techie IT
२०८३ असोज १०, शनिबार

रास्वपाभित्र गुटबन्दीको बीजारोपण रोक्न नेता कार्कीको चेतावनी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक निर्वाचनका नाममा हुन सक्ने प्यानलगत विकृति र गुटबन्दीप्रति मोरङ क्षेत्र नम्बर ३ का सांसद एवं पार्टीका केन्द्रीय नेता गणेश कार्कीले गम्भीर आपत्ति जनाएका छन्।

पार्टीको कोशी प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता कार्कीले प्यानल प्रथाको सुरुवात दोस्रो व्यक्तिले अर्काको प्रचार गर्ने शैलीबाटै हुने भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएका हुन्। रास्वपामा औपचारिक प्यानल प्रणाली नहुनु सकारात्मक पक्ष भए पनि निर्वाचनका बेला केही व्यक्तिहरू अदृश्य रूपमा गुट बनाएर मत माग्दै हिँडेको पाइएको उनले उल्लेख गरे। अब उम्मेदवार स्वयंले मात्र आफ्ना लागि मत माग्नुपर्ने र अरूको पम्प्लेट बोकेर हिँड्ने प्रवृत्ति बन्द हुनुपर्ने उनको स्पष्ट जिकिर छ।

विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपामा भित्रिएका नेता-कार्यकर्ताहरूबीच हुन सक्ने आन्तरिक विभेद र 'पुरानो भर्सेस नयाँ' को खतराप्रति सङ्केत गर्दै कार्कीले पार्टी अहिले 'सप्तकोशी' जस्तै विशाल भइसकेको दाबी गरे। सप्तकोशी नदीमा तमोर, लिखु वा इन्द्रावती मिसिएपछि पानीको पुरानो स्रोत छुट्टाउन खोज्नु मूर्खता र समयको बर्बादी मात्र हुने तर्क गर्दै उनले रास्वपामा आउनुअघि को कुन दलमा थियो भन्ने कुराले अब कुनै अर्थ नराख्ने बताए। विगतका पुराना कथाहरू सकिइसकेकाले अब सबै संकीर्णता त्यागेर पार्टीको विशालतालाई देशको हितमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

त्यसैगरी, कोशी प्रदेशले अब व्यक्तिवादी राजनीतिको अन्त्य गरी विचार र नीतिको राजनीतिमा जोड दिनुपर्ने धारणा कार्कीले अघि सारेका छन्। विगतमा कोशीले नेताको नाम र अनुहार हेरेर मात्र राजनीति गरेको स्मरण गराउँदै उनले अब राष्ट्रिय नीतिका लागि कोशी प्रदेश आफैँले वैचारिक नेतृत्व लिन सक्ने र एउटा उत्कृष्ट उदाहरण बन्न सक्ने गरी अघि बढ्नुपर्ने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट