इतर पक्षको ढुलमुले रवैयाप्रति उपसभापति शर्माको असन्तुष्टि
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षलाई तत्काल बैठक बसी सात बुँदे प्रस्तावमाथि साझा धारणा बनाउन सुझाव दिएका छन्।
संस्थापन इतर पक्षका नेता कृष्णप्रसाद सिटौलासँग मंगलबार झापाको धुलाबारीमा भएको भेटमा उपसभापति शर्माले यस्तो सुझाव दिएका हुन्।
"हामीले पूर्णबहादुर खड्का र शेखर कोइराला दाइसँग कुरा गर्यौं, तर कसैबाट पनि साझा धारणा आएन," शर्माले सिटौलासँग भने, "तपाईंहरू सँगै बसेर चिया गफ नगरेको पनि करिब एक महिना भइसके छ। अब दाइहरू बसेर छिटो साझा धारणा बनाउनुपर्यो र तपाईंहरूको प्रतिनिधित्व कसले गर्ने हो, त्यो पनि निश्चित गर्नुस्।"
शर्मा र सिटौलाबीचको भेटबारे जानकारी दिँदै झापाका एक कांग्रेस नेताले बताए अनुसार, जवाफमा सिटौलाले "एकपटक बसेर कुरा गरौं" भन्ने संक्षिप्त प्रतिक्रिया दिएका थिए।
त्यसक्रममा उपसभापति शर्माले आफूहरू संवादका लागि सधैं तयार रहेको स्पष्ट पार्दै आफ्नो प्रस्तावलाई सार्वजनिक रूपमै 'नाटक' भनिएको प्रति असन्तुष्टि जनाएका थिए ।
"हाम्रो प्रस्तावलाई त दाइले नाटक भन्नुभएछ। तर हाम्रो बाहिर एउटा र भित्र अर्को कुरा छैन। गगन वा विश्वप्रकाश, जोसँग बस्ने हो र को बस्ने भन्ने कुरा तपाईंहरूले नै टुङ्गो लगाउनुपर्छ," शर्माले भने, "यसका लागि तपाईंहरू आपसमा बसेर सल्लाह गर्नुस्।"
उपसभापति शर्मा आफ्ना काका एवं पुराना कांग्रेस नेता याम भण्डारीको निधन भएपछि विगत ५ दिनदेखि धुलाबारीस्थित गृहजिल्लामै छन्। प्रजातान्त्रिक आन्दोलनका क्रममा लामो जेल जीवन बिताएका भण्डारीको ५ दिनअघि निधन भएको थियो।
नेता सिटौला भण्डारी परिवारमा समवेदना प्रकट गर्न धुलाबारी पुगेका थिए। सोही क्रममा दुई नेताबीच पार्टीको आन्तरिक मतभेद र समसामयिक राजनीतिक विषयमा केही बेर कुराकानी भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस