गगन थापालाई समर्थन गर्नु 'भुल' थियो: जेनजी अगुवा ढुङ्गाना
'जेनजी' (Gen Z) युवा अगुवा मिराज ढुङ्गानाले नेपाली कांग्रेसका सभापति गगन थापालाई विगतमा गरेको समर्थनप्रति सार्वजनिक रूपमा ‘आत्मालोचना’ गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका अवसरमा शुभकामना सन्देश दिने क्रममा उनले पुराना राजनीतिक दलहरू सुध्रिने सम्भावना समाप्त भएको दाबी गर्दै थापाको कडा आलोचना गरेका हुन्।
रास्वपा सभापति रवि लामिछाने र सो पार्टीलाई ‘आशाको समर्थन’ सहित शुभकामना दिँदै ढुङ्गानाले गगन थापाले रास्वपालाई पठाएको शुभकामना सन्देश उनै थापालाई नै ‘फरवार्ड’ गर्न चाहेको टिप्पणी गरे। महामन्त्री थापाले रास्वपालाई सुध्रिन सुझाव दिनुभन्दा आफ्नै पार्टीलाई सुदृढ र सङ्गठित गर्नुपर्ने आवश्यकता बढी देखिएको उनको भनाइ छ।
ढुङ्गानाले बाल्यकालदेखि नै गगन थापाको प्रखर प्रस्तुतिबाट आफू प्रभावित भएको स्मरण गरेका छन् । कांग्रेसप्रति आफ्नो वैचारिक झुकाव नभए पनि थापालाई बहुदलीय व्यवस्थाका लागि एक अपरिहार्य पात्र मानेर समर्थन गरेको तर अहिले थापा आफ्नै पार्टीलाई सही दिशा दिन असफल भएको उनको ठम्याइ छ।
ढुङ्गानाले सामाजिक सञ्जालमा लेखेका छन् - "मैले गगन थापाज्यूले बनाउन खोज्नुभएको सुदृढ दललाई आशाको समर्थन दिएको थिएँ। तर आज यो बहुदलीय व्यवस्थामा म केवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्रै देख्छु। गगन थापाले आफ्नै पार्टीलाई सही बाटोमा ल्याउन सक्नुभएन, यो म जस्तो लोकतन्त्रवादीका लागि निकै दुःखको कुरा हो।"
पुरानो शक्तिबाट अब कुनै पनि परिवर्तन सम्भव नरहेको जिकिर गर्दै उनले अगाडि थपेका छन्, "पुराना दलहरूसँग अब त्यो नैतिक आकर्षण बाँकी छैन। पुरानोलाई सुधारेर नयाँ बनाउन नसकिएको वर्तमान अवस्था देख्दा मैले गगन थापाज्यूलाई गरेको विगतको समर्थनप्रति आत्मालोचना गर्नुबाहेक अन्य विकल्प नै देखिनँ।"
युवा नेता ढुङ्गानाले नेपाली राजनीतिमा अब पुराना स्थापित दल नेकपा एमाले वा नेपाली कांग्रेसको विकल्प तिनै पार्टीभित्रका आन्तरिक संरचनाबाट निस्कन नसक्ने ठोकुवा गरे। उनले देशको राजनीतिमा रिक्त रहेको ‘भ्याकुम’ भर्न रास्वपा जस्तै नयाँ र राष्ट्रवादी शक्तिको उदय र विकास अनिवार्य भइसकेको उल्लेख गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस