लिङ्देनविरुद्ध अध्यक्षमा भिड्ने शाहीको तयारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्। राप्रपाभित्र नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको तर्क गर्दै उनले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्।
राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदै छ। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पनि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने तयारीमा छन्, यद्यपि उनले औपचारिक घोषणा गरिसकेका छैनन्।
महामन्त्री डा. धवलशम्शेर राणाले हालै पार्टी परित्याग गरेपछि लिङ्देन निर्विरोध अध्यक्ष बन्न सक्ने अनुमान गरिएको थियो। तर शाहीले उम्मेदवारी दिने निर्णय गरेसँगै महाधिवेशनमा अध्यक्ष पदको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।
गत प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका शाही राप्रपाका प्रत्यक्ष निर्वाचित एकमात्र सांसद हुन्। उनको जितकै आधारमा राप्रपाले समानुपातिकतर्फ थप तीन सिट प्राप्त गर्दै संसदमा चार सदस्यीय उपस्थिति कायम गर्न सफल भएको थियो। हाल उनी पार्टीको संसदीय दलका नेता छन्।
संख्यात्मक रूपमा सानो भए पनि राप्रपाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। अब भने शाही संसदको भूमिकामा सीमित नरही पार्टी नेतृत्व सम्हाल्ने तयारीमा छन्। केही दिनअघि दिएको एक अन्तर्वार्तामा उनले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व अपेक्षाअनुसार सफल हुन नसकेको दाबी गर्दै नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताएका थिए।
शाहीले महाधिवेशनअघि लिङ्देनले अध्यक्ष पदबाट राजीनामा दिएर नयाँ नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने माग गरेका थिए। तर केन्द्रीय समितिले लिङ्देनकै संयोजकत्वमा आयोजक समिति गठन गरेपछि उनी असन्तुष्ट बनेका छन्। सोही असन्तुष्टिका बीच शाहीले उक्त केन्द्रीय समिति बैठकमा सहभागिता जनाएका थिएनन्।
पार्टी स्रोतका अनुसार शाहीले लिङ्देनलाई यसै महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न प्रस्तावसमेत गरेका थिए। तर लिङ्देन त्यसमा सहमत नभएको बताइन्छ। लिङ्देननिकट नेताहरू भने यस कार्यकालमा आन्तरिक अवरोधका कारण अपेक्षित काम गर्न नपाएको भन्दै उनले अर्को कार्यकाल पनि नेतृत्व सम्हाल्ने मनसाय राखेको बताउँछन्।
लिङ्देननिकट पक्षले शाही संसदीय दलको नेता भएकाले तत्काल अध्यक्षको दाबी गर्नु आवश्यक नभएको तर्क गर्दै आएको छ।
हालै एक कार्यक्रममा लिङ्देनले उमेरकै आधारमा नेतृत्वको मूल्यांकन गर्न नहुने संकेत गर्दै भनेका थिए, “८० वर्षका सबै डोनाल्ड ट्रम्प हुँदैनन्, ३६ वर्षका सबै बालेन शाह पनि हुँदैनन्। उमेर मात्रै सबै कुरा होइन।”



तपाईको प्रतिक्रिया दिनुहोस