Techie IT
२०८३ असार १६, मंगलबार

दुई ढुङ्गाबिचको तरुल नीति अब सान्दर्भिक छैन - डा. भट्टराई


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीति परम्परागत रक्षात्मक अवस्थाबाट माथि उठ्न नसकेको टिप्पणी गर्दै यसलाई समयसापेक्ष र गतिशील बनाउनुपर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौँमा आयोजित ‘यदुनाथ खनाल स्मृति व्याख्यान’ शृङ्खलामा ‘नेपालको परराष्ट्र नीतिः भू–राजनीतिक र भू–आर्थिक प्रवृत्ति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो धारणा राखेका हुन्।

डा. भट्टराईले पृथ्वीनारायण शाहको पालादेखि प्रचलनमा रहेको ‘दुई ढुङ्गाबिचको तरुल’ भन्ने ऐतिहासिक रूपक (न्यारेटिभ) लाई बदलिएको २१ औँ शताब्दीको विश्व परिवेश र शक्ति सन्तुलन अनुरूप परिमार्जन गर्नुपर्ने तर्क गरे। बदलिँदो भू-राजनीतिमा नेपालले आफूलाई 'तरुल' मात्र ठानेर रक्षात्मक बस्न नहुने उनको सङ्केत थियो।

वैदेशिक सम्बन्ध सञ्चालनमा ‘व्यावहारिक आदर्शवाद’ (प्र्याग्मेटिक आइडियलिज्म) को नयाँ दर्शन अघि सार्दै पूर्वप्रधानमन्त्री भट्टराईले आदर्श र व्यवहारलाई एउटै सिक्काका दुई पाटाका रूपमा व्याख्या गरे। अबको कूटनीति सैद्धान्तिक रटानमा मात्र सीमित नभई राष्ट्रिय हित अनुकूल हुनुपर्ने उनको भनाइ थियो।

नेपालमा २०७२ को संविधान जारी भएसँगै लामो राजनीतिक सङ्घर्ष र सङ्क्रमणकालको चरण पूरा भइसकेको डा. भट्टराईले दाबी गरे। बदलिएको राजनीतिक परिदृश्यमा मुलुक अब विकास र सुशासनको नयाँ युगमा प्रवेश गरेकाले नेपालको समग्र परराष्ट्र नीति अब 'विकास कूटनीति' (डेभलपमेन्ट डिप्लोमेसी) मा केन्द्रित हुनुपर्नेमा उनले विशेष जोड दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट