पूर्णबहादुर खड्काले डाके आफूनिकट नेताहरूको आकस्मिक बैठक
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष र ध्रुवीकरण तीव्र बनिरहेका बेला संस्थापन पक्षका प्रभावशाली नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक डाकेका छन् । खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेबाट सुरु हुने भनिएको उक्त बैठकलाई पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर निकै चासोका साथ हेरिएको छ ।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित संस्थापन पक्षका पदाधिकारीसहित शीर्ष नेताहरू सहभागी हुने बुझिएको छ । पार्टीभित्र इतर समूहले गतिविधि तीव्र बनाएपछि रणनीतिक काउन्टर दिन र काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा बैठकले ठोस निर्णय गर्ने जनाइएको छ । नेता खड्काले हालै मात्र इतर पक्षलाई लक्षित गरी ७ बुँदे जवाफ फर्काएका थिए, जसका कारण पार्टीभित्र तरङ्ग पैदा भएको थियो । आजको छलफल सोही ७ बुँदे जवाफ र आगामी रणनीतिका विषयमा केन्द्रित हुनेछ ।
पार्टीभित्र इतर पक्षले यसअघि नै सातवटै प्रदेशमा भेला सम्पन्न गरेर नेतृत्वमाथि दबाब बढाउँदै आएको छ । यसैबिच, हिजो मात्रै नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशाङ्क कोइरालाबीच पनि बेग्लै छलफल भएको थियो । नेताहरूबीच छुट्टाछुट्टै मोर्चाबन्दी कसिँदै जाँदा खड्का निवासमा बस्न लागेको यो बैठकलाई संस्थापन पक्षको वर्चस्व जोगाउने रणनीतिक कदमका रूपमा लिइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस