प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै, यस्तो छ कार्यसूची
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा विभिन्न निकायका वार्षिक प्रतिवेदन पेस गर्नेदेखि महत्त्वपूर्ण विधेयकहरूमाथिको छलफल र स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्ने भारी कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुईवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू सदनसमक्ष प्रस्तुत गर्नेछिन्। जसमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन रहेका छन्।
व्यवस्थापन कार्यअन्तर्गत आज विभिन्न नयाँ विधेयकहरू सदनमा दर्ता र छलफलका लागि अगाडि बढाइनेछ। कानुन मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र उक्त विधेयक सदनमा पेस गर्ने कार्यसूची छ। यसका साथै, ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले नै पेस गर्नेछिन्।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस