एक रुपैयाँको सिक्काबाट नक्सा हटाउने सरकारको तयारीप्रति रावलको कडा आपत्ती
नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारले एक रुपैयाँको सिक्काबाट नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा हटाउन लागेको भन्दै तीव्र आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेता रावलले बालेन्द्र शाहको प्रधानमन्त्रीत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको कडा आलोचना गरेका हुन्। गत असार ३२ गतेको मन्त्रिपरिषद् बैठकले सिक्काबाट नेपालको वास्तविक नक्सा हटाएर अमेरिकी सहयोगमा निर्मित 'लु भ्याकुर' नामक गुम्बाको चित्र राख्ने निर्णय गरी राष्ट्र बैंकलाई निर्देशन दिएको चर्चा बाहिरिएको भन्दै उनले गम्भीर चासो व्यक्त गरेका छन्।
डा. रावलले चेतावनी दिँदै लेखेका छन्, "यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले 'नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएपछिको यो अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डता विरुद्धको घातक कदम ठहरिने छ।" उनले यस संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सरकारले तत्काल जनतासामु आधिकारिक यथार्थ स्पष्ट पार्नुपर्ने माग समेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस