वालेन सरकार समुद्रमा कम्पास हराएको जहाज जस्तै भएकाले धेरै टिक्दैन - संयोजक प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको बताएका छन्। सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा उनले विगतमा आफूले संसद् र सार्वजनिक रूपमा लामिछानेको बचाउ गरेको स्मरण गर्दै यस्तो बताएका हुन्।
प्रधानमन्त्रीबाहेक रास्वपाका अन्य शीर्ष नेताहरूसँग आफ्नो नियमित संवाद भइरहेको उल्लेख गर्दै प्रचण्डले रवि लामिछानेमा राजनीतिक परिपक्वता बढ्दै गएको दाबी गरे।
वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै उनले भने, “सरकार आफैँ अपरिपक्व छ। आफैँ वैचारिक-राजनीतिक दिशाविहीन छ। त्यो समुद्रमा कम्पास हराएको जहाज जस्तो भएको हुनाले धेरै टिक्दैन।”
संयोजक प्रचण्डले वर्तमान सरकारले संविधान संशोधनका नाममा मुलुकको मूल राजनीतिक चरित्र नै परिवर्तन गर्न खोजेको आरोप समेत लगाएका थिए । बालेन शाह नेतृत्वको सरकारले बनाएको कार्यदलले संविधान संशोधनभन्दा पनि पुनर्लेखਨ गर्ने नियत राखेको दाबी गर्दै उनले त्यही कारण विपक्षी दलहरूले उक्त कार्यदल छाडेको स्पष्ट पारेका छन् ।
पछिल्लो समय पुराना राजनीतिक दलहरू कमजोर हुनुको कारण समीक्षा गर्दै प्रचण्डले भने, “हामीले संविधान बनायौँ, गणतन्त्र ल्यायौँ र ढुक्क भयौँ। तर, सरकार बनाउने र गिराउने खेलमै मात्र अल्झियौँ। रणनीति छाडेर कार्यनीतिमा घुमिरहँदा हाम्रा विरोधीहरू रणनीतिक रूपमै अघि बढे। हाम्रो सबैभन्दा ठूलो कमजोरी यही हो।”
डिजिटल युग र सामाजिक सञ्जालको प्रभावलाई बेवास्ता गर्नु पनि आफ्नो ठूलो भूल भएको उनको स्वीकारोक्ति थियो। राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, संविधान र जनताका अधिकारको रक्षाका लागि राजनीतिक दल, सचेत नागरिक र पत्रकारिताबीच गहिरो सहकार्य र संवाद आवश्यक रहेको उनले औँल्याएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस