Techie IT
२०८३ भाद्र ५, शुक्रबार

विशेष महाधिवेशन विभाजनकारी र अवैधानिक भएकाले कोहि सहभागि नहुनु : डा. शशांक कोइराला


नेपाली कांग्रेसका नेता तथा १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले संस्थापन पक्षको आधिकारिक निर्णयविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका कार्यकर्ताहरूलाई कडा अपिल गरेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. कोइरालाले 'कथित विशेष महाधिवेशन' पक्षले सार्वजनिक गरेको १५औँ महाधिवेशनको कार्यतालिका पूर्ण रूपमा अवैधानिक र पार्टीमा विभाजन ल्याउने खालको रहेको आरोप लगाएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा हाल विचाराधीन रहेको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डिभिजन बेन्चको निर्णयविरुद्ध दिएको पुनरवलोकनको निवेदनमा सर्वोच्च अदालतको पूर्ण इजलासले सुनुवाइको अनुमति (निस्सा) प्रदान गरिसकेको छ।

मुद्दा अदालतमा विचाराधीन भई सुरुदेखिनै न्याय निरूपणको प्रक्रियामा रहेको बेला संस्थापन इतर पक्षबाट महाधिवेशनको मिति घोषणा गरिनु न्यायको अवहेलना तथा पार्टी विधानको ठाडो उल्लङ्घन भएको डा. कोइरालाको तर्क छ।

विज्ञप्तिमा भनिएको छ, "यस्तो गम्भीर विवादको अवस्थामा विशेष महाधिवेशनको नाममा चालिने कदमले पार्टीका प्रत्येक तहमा संरचनागत विभाजनको रेखा कोर्नेछ।" यस्तो खालको आन्तरिक द्वन्द्व र विभाजनले आगामी स्थानीय तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने चेतावनी समेत उनले दिएका छन्।

संयोजक डा. कोइरालाले विशेष महाधिवेशन पक्षधरका गतिविधिहरूलाई 'अवैधानिक'को संज्ञा दिँदै त्यस्ता कार्यक्रमहरू आयोजना नगर्न, नगराउन र कुनै पनि हालतमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी तथा क्रियाशील सदस्यहरूलाई दृढताका साथ आह्वान गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट