नेता गुणराज लोहनी साधारण सदस्यसमेत नरहने गरी निष्कासित
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भित्रको आन्तरिक विवाद चुलिएसँगै पार्टीले अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’ लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको छ।
पार्टी अध्यक्ष धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ को अध्यक्षतामा हालै बसेको अध्यक्ष मण्डलको बैठकमा गम्भीर अनुशासनहीनता र अमर्यादित गतिविधि देखाएको भन्दै यो कठोर कारबाही गरिएको हो। भदौ १२ गते जारी विज्ञप्तिअनुसार बैठक चलिरहेका बेला लोहनीले अध्यक्षमाथि अमर्यादित ढङ्गले गालीगलौज गरेका थिए।
पार्टी बैठकका दौरान अध्यक्ष बाँस्तोलाविरुद्ध अमर्यादित शब्द प्रयोग गर्दै गालीगलौजमा उत्रिएका लोहनीले यसअघि पनि नेतृत्वविरुद्ध बारम्बार अमर्यादित अभिव्यक्ति दिने, हुलहुज्जत गर्ने तथा गुटबन्दीमार्फत पार्टीलाई कमजोर पार्ने गतिविधि गर्दै आएका थिए। पछिल्लो अनुशासन उल्लङ्घनको घटनामा पार्टीले दिएको लिखित आत्मालोचनाको निर्देशनलाई उनले ठाडै अस्वीकार गरेका थिए भने लोहनीमाथि यसअघि पनि विभिन्न शंकास्पद गतिविधि र आन्तरिक अनुशासन उल्लङ्घनका घटना जोडिने गरेका थिए।
पटक–पटक सम्झाउने, चेतावनी दिने, निलम्बन गर्ने तथा सुधारको अवसर दिँदा पनि व्यवहारमा कुनै सुधार नआएपछि पार्टीको मर्यादा र साङ्गठनिक अनुशासन कायम राख्न यो निर्णय लिन बाध्य भइएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि पनि पार्टीभित्र विभिन्न विवादका कारण चर्चामा रहेका लोहनीको निष्कासनसँगै नेकपा (बहुमत) को आन्तरिक राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस