प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता
नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
शनिबार डल्लुस्थित नेता खनालको निवासमा भएको उक्त भेटवार्ता करिब डेढ घण्टा (१ घण्टा ३० मिनेट) चलेको थियो। भेटका क्रममा देशको समसामयिक राजनीतिक परिस्थिति, वामपन्थी शक्तिबीचको सहकार्य तथा कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल भएको छ।
छलफलमा नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, साङ्गठनिक सुदृढीकरण तथा छरिएर रहेका वामपन्थी शक्तिहरूबीचको एकतालाई मजबुत बनाउने विषयमा विचार–विमर्श गरिएको बताइएको छ ।
त्यसैगरी, मुलुकको पछिल्लो राजनीतिक गतिरोध र त्यसको निकासका बारेमा साझा धारणा निर्माण गर्ने र हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढीपहिराले सिर्जना गरेको समस्या तथा विपद्को यस घडीमा राज्य र राजनीतिक दलहरूले खेल्नुपर्ने भूमिकाबारे समीक्षा गरिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस