नेपालको राजनीति र साहित्यका नक्षत्र बिपी कोइरालाको ११३औँ जन्मजयन्ती मनाइँदै
नेपालको राजनीति र साहित्यमा अतुलनीय योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ११३औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो।
जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जान बाध्य भएको थियो। भारत निर्वासनकै क्रममा बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा समेत सक्रिय सहभागिता जनाएका थिए र भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि मार्गप्रशस्त हुन्छ भन्ने दूरगामी सोचका साथ राजनीतिमा होमिएका हुन्।
२००३ सालमा बिपीको नेतृत्वमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ को स्थापना भयो र सुवर्णशम्शेरको नेतृत्वमा स्थापित ‘नेपाल प्रजातन्त्र कांग्रेस’ सँग एकता भएपछि विसं २००७ को ऐतिहासिक क्रान्ति सफल भयो, जसको परिणामस्वरूप मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा उनी गृहमन्त्री बने।
विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने र राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादको बलियो आधार खडा गर्दै बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने क्रान्तिकारी भूमि सुधार कार्यक्रम लागू गराए। तर, विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरेपछि उनलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइयो।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएर आठ वर्ष भारतमा निर्वासित जीवन बिताएका उनी, राष्ट्रियता कमजोर भएको महसुस गर्दै आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किए जसले आजको नेपाली राजनीतिमा पनि उत्तिकै सान्दर्भिक स्थान राख्छ।
क्यान्सर रोगका कारण विसं २०३९ साल साउन ६ गते निधन भएका कोइराला राजनीतिक नेतृत्वका साथै नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक हुन्, जसका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, ‘बाबु, आमा र छोरा’ जस्ता ६ वटा उपन्यास तथा ‘श्वेत भैरवी’, ‘दोषी चश्मा’ लगायतका डेढ दर्जन कृतिहरू प्रकाशित छन्।
प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र चिन्तन र शैलीमार्फत नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन् भने उनीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई २०६१ साल भदौ २४ गतेदेखि ‘बिपी सङ्ग्रहालय’ का रूपमा विकास गरिएको छ, जसमा २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर र २०३० सालमा कांग्रेसले क्रान्तिका लागि खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमानसमेत सुरक्षित राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस