Techie IT
२०८३ असोज ९, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष खान रास्वपामा प्रवेशको तयारीमा


नागरिक उन्मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहितका केही नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा जुटेका छन्।

खानको नेतृत्वमा केही नेताहरूले शुक्रबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर पार्टीमा आबद्ध हुने विषयमा गम्भीर छलफल गरेका छन्। उक्त भेटघाटमा जनमत पार्टीका नेता एवं उद्योगमन्त्री ई. दीपक साहको पनि सहभागिता रहेको थियो र भेटको समन्वय उनैले गरेको बुझिएको छ।

तर, नेता खानले भने हालसम्म आफू रास्वपामा प्रवेश गरिसकेको कुरा भने अस्वीकार गरेका छन्। उनका अनुसार सभापति लामिछानेसँग आगामी चुनावमा सहकार्य गर्ने विषयमा मात्रै कुराकानी भएको हो।

“पार्टी प्रवेशको कुरा होइन, चुनावमा सहकार्यका लागि कुराकानी भएको हो, अरू केही होइन” खानले भने ।

यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतसँग लामो समय काम गरेका खान स्वतन्त्र मधेस गठबन्धनदेखि नै राउतसँग निकट थिए। पछि जनमत पार्टी छाडेर उनी रेशम चौधरीसँगको सहकार्यमा नागरिक उन्मुक्ति पार्टी नेपालको गठनमा सहभागी भएका थिए। उनी सोही पार्टीका उपाध्यक्ष बनेका थिए भने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समेत उम्मेदवार बनेका थिए। निर्वाचनमा पराजित भएपछि उनी पार्टीमा निष्क्रिय जस्तै थिए। शुक्रबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सचिवालय बैठक चलिरहेकै बेला खानले रास्वपा सभापतिसँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यता, यसअघि नै जनमत पार्टी छाडेर रास्वपा प्रवेश गरेका सुरेन्द्रनारायण यादवले भने अब्दुल खानसहितका नेताहरू रास्वपामा आइसकेको दाबी गरेका छन्।

स्रोतका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेदवारी सुरक्षित हुने वातावरण बनेमा अब्दुल खान औपचारिक रूपमै रास्वपासँग आबद्ध हुने बलियो मनस्थितिमा छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट