Techie IT
२०८३ असोज १५, बिहीबार

देउवा पक्षद्वारा आजदेखि देशैभर समानान्तर वडा अधिवेशन सुरु


नेपाली कांग्रेसको आधिकारिकता विवाद चर्किंदै गएका बेला सभापति शेरबहादुर देउवा पक्षले आजदेखि १५औँ महाधिवेशनअन्तर्गत समानान्तर वडा अधिवेशन सुरु गरेको छ।

संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरिरहँदा, इतर समूहका रूपमा रहेको देउवा पक्षले पनि छुट्टै कार्यतालिका सार्वजनिक गर्दै आजदेखि वडा अधिवेशन थालेको हो। यस समूहले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरिसकेको छ।

नयाँ कार्यतालिका अनुसार देउवा समूहले असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्नेछ। साथै, यससम्बन्धी जानकारी निर्वाचन आयोगलाई गराइसकिएको र ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतहरू खटाइसकिएको नेता किरणराज पौडेलले जानकारी दिए। हालसम्म वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकहरू तोकिएका छन्।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल महाधिवेशन गर्न नहुने देउवा पक्षको अडान थियो। तर, संस्थापन पक्ष असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रियामा होमिएपछि, इतर पक्षले पनि बाध्य भएर छुट्टै महाधिवेशनको तयारी थालेको हो।

महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहबाटै सङ्गठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुको विकल्प नरहेको बताएका छन्। उनले उच्च मनोबल, उत्साह र सक्रियताका साथ महाधिवेशनमा सहभागी हुन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई आह्वान गरेका छन्।

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै आएको देउवा पक्षले संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियालाई पूर्ण रूपमा बहिष्कार गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट