किन जोड गरिरहेका छन् प्रचण्ड पार्टी एकतामा ??
नेकपा माओवादी केन्द्रको बिहीबार सकिएको स्थायी समिति बैठकमा पार्टी एकता र वामपन्थी सहकार्यको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जोड दिएका थिए । उनले एकीकृत समाजवादी (एस) अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दसँग भेटेर पार्टी एकताको प्रस्ताव गरे। दाहालले सदन र सडकमा बलियो पार्टी बनाउने उद्देश्यले एकताको प्रस्ताव गरे पनि दुवै नेताले आ-आफ्नो पार्टीभित्र निर्णय गर्न बाँकी रहेको बताए।
दाहालले माधव नेपाल नेतृत्वको नेकपा एसलाई माओवादीमा समेटेर ४२ सिटको बलियो पार्टी बनाउने योजना बनाएका छन् । तर, अध्यक्ष नेपालले तत्काल पार्टी एकता नगरी समाजवादी मोर्चामार्फत सहकार्य गर्ने मुडमा छन् । एसका नेता झलनाथ खनाल भने माओवादीसँग तत्काल एकता सम्भव नभएको र पहिले आफ्नो दल बलियो बनाउनुपर्छ भनिरहेका छन् । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पार्टी एकता गर्ने प्रारम्भिक छलफल भएको तर विस्तृत कुराकानी नभएको बताए । अहिले प्रचण्ड जुनसुकै हालतमा पनि प्रचण्ड नेतृत्व छोड्ने मुडमा देखिदैनन् । माओवादी पार्टीमा आन्तरिक अस्थिरता वा प्रचण्ड प्रति प्रश्न उठाउने बित्तिकै अध्यक्ष प्रचण्डले साना अरु पार्टी सँग एकता गर्ने भनेर केहि दिन तात्ने गरेको माओवादीका केहि नेताहरुको भनाई छ ।
गत आइतबार देखि विहीवार सम्म चलेको माओवादी केन्द्रको स्थाई कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष प्रचण्ड लाई प्रश्नै प्रश्न गरेको १४ पेजको पूरक दस्तावेज पेश परेपछि माओवादी भित्र ठुलै हलचल मच्चिएको छ । अहिले सम्म कसैले सिधा प्रश्न गर्न नसक्ने माओवादी केन्द्रमा स्थायी कमिटीमा नेता प्रभाकरको पार्टी सुधारका लागि ल्याएको प्रस्तावमा पार्टीका युवा नेताहरूले सामाजिक संजाल लगायतका विभिन्न प्लेटफर्महरूमा समर्थन गरेका थिए । पार्टीमा परिवारवाद हावी भएको, सरकारमा हुँदा अध्यक्ष प्रचण्डले नै पार्टीका नेताहरूका विरुद्ध सत्ता दुरुपयोग गरेको लगायतका विषयहरूको सबैले समर्थन गरेका छन् ।
माओवादी केन्द्रको २०६४ को चुनावमा करिव ३२ लाख मतदाता २०७९ को चुनाव सम्म आउँदा ११ लाखमा झर्दा समेत पार्टी नेतृत्वले गल्ति महसुस नगर्नु तथा नेता लाई प्रश्न गर्दा उल्टै पार्टी बाट किनारा लगाइनु पार्टी जीवनका लागि दुखित भएको विद्यार्थी नेता सुरज भण्डारी वताउन्छन् । पार्टीको ८ औं विशेष महाधिवेशन नामको मात्र महाधिवेशन भएको थियो । सहभागि प्रतिनिधिहरुले प्रत्यक्ष निर्वाचित नेतृत्व चाहिन्छ भनेर माग गर्दा पनि अध्यक्ष प्रचण्डले गोजी बाट कागजको टुक्रा बाट नाम पुकारेर केन्द्रिय सदस्य बनाएको र त्यो कर्मकाण्डि महाधिवेशन भएको माओवादी नेताहरूको भनाई छ ।



तपाईको प्रतिक्रिया दिनुहोस