Techie IT
२०८३ भाद्र ७, आइतबार

इरानी ह्याकरहरूले ४ दिनसम्म बन्द गरे बेलायतको विद्युत् केन्द्र

अमेरिकाका १२ वटा राज्यका जल पूर्वाधार तथा खानेपानी प्रशोधन केन्द्रहरूमा ह्याकरहरूको शृङ्खलाबद्ध साइबर हमला


इरानसँग सम्बन्धित ह्याकरहरूले बेलायतको एउटा विद्युत् केन्द्र चार दिनसम्म पूर्ण रूपमा बन्द गराएको दाबी गरिएको छ। बेलायती सञ्चारमाध्यम 'द टेलिग्राफ'मा प्रकाशित समाचारअनुसार, बेलायतको महत्वपूर्ण पूर्वाधारमाथि इरानी समूहले गरेको यो अहिलेसम्मकै सबैभन्दा गम्भीर साइबर आक्रमणमध्ये एक हो।

सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बेलायती अधिकारीहरूले प्रभावित विद्युत् केन्द्रको नाम भने खुलाएका छैनन्। प्रभावित केन्द्र तुलनात्मक रूपमा सानो क्षमताको भएकाले यसको बन्दले समग्र बेलायतको ऊर्जा उत्पादनमा भने ठूलो असर नपरेको बताइएको छ। कर्मचारीहरूको अथक प्रयासपछि चार दिनमा प्रणाली पुनः सञ्चालनमा ल्याइएको थियो।

अनुसन्धान अधिकारीहरूका अनुसार आक्रमणबाट सर्वसाधारणको विद्युत् आपूर्तिमा व्यापक क्षति पुर्‍याउने भन्दा पनि बेलायतको संवेदनशील पूर्वाधारमा पहुँच बनाउन सकिन्छ कि सकिँदैन भन्ने क्षमता प्रदर्शन गर्नु मुख्य उद्देश्य रहेको देखिन्छ। घटनालगत्तै बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) लाई जानकारी गराइएको छ भने सरकारले ऊर्जा कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरूलाई सुरक्षा सावधानी अपनाउन कडा निर्देशनसहितको सूचना जारी गरेको छ।

यसैबेला, अमेरिकाका १२ वटा राज्यका जल पूर्वाधार तथा खानेपानी प्रशोधन केन्द्रहरूमा समेत इरानसँग जोडिएका ह्याकरहरूले शृङ्खलाबद्ध साइबर हमला गरेका थिए। उक्त अमेरिकी हमलाका कारण पानीको दबाब घट्ने र बाढी आउने जस्ता समस्या देखिएका थिए। मध्यपूर्वको द्वन्द्वसँगै इरानले पश्चिमा देशहरूविरुद्ध साइबर आक्रमण तीव्र पारेको छ। जर्मनी, पोल्यान्ड, फिनल्यान्ड र बेल्जियम जस्ता देशहरू यसअघि नै इरानी साइबर अपरेशनको सिकार भइसकेका छन्।

बेलायती गुप्तचर संस्था र मन्त्रिपरिषद् कार्यालयले कृत्रिम बौद्धिकता (AI) को प्रयोगले आगामी दिनमा साइबर आक्रमणहरू अझ तीव्र र खतरनाक बन्न सक्ने चेतावनी समेत दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट