Techie IT
२०८३ कार्तिक ६, बिहीबार

पीएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम, अधिकांश सरकारी वेबसाइटहरू बन्द


पीएचपी (PHP) प्रोग्रामिङ भाषामा देखिएका दुई गम्भीर सुरक्षा त्रुटिका कारण नेपालका अधिकांश सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएका छन्। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विश्वभरका पीएचपीमा आधारित प्रणालीहरूमा देखापरेको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सम्भावित क्षति हुन नदिन सावधानीस्वरूप यी प्रणालीहरू बन्द गरिएको जनाएको छ। बडादसैँको सार्वजनिक बिदाको समयमा समेत प्राविधिक टोली जोखिम नियन्त्रण र सुरक्षा परीक्षणमा खटिएको छ।

एआईको सहायताले पत्ता लागे ‘पीएचपी२शेल’ त्रुटिहरू

अक्टोबर २१ मा सार्वजनिक गरिएका यी सुरक्षा कमजोरीहरू कृत्रिम बौद्धिकता (AI) को सहायताले पहिचान गरिएका हुन्। ‘विज रिसर्च’, ‘क्यालिफ’, ओपनएआई र क्वार्कस्ल्याब लगायतका संस्थाहरूको सहकार्यमा पत्ता लगाइएका यी दुई त्रुटिलाई ‘सीभीई–२०२६–१०९६१८’ र ‘सीभीई–२०२६–१०९६१९’ संकेत दिइएको छ। ‘पीएचपी२शेल’ नाम दिइएका यी त्रुटिको दुरुपयोग भएमा आक्रमणकारीले लगइनबिना नै प्रभावित सर्भरमा टाढैबाट अनधिकृत कोड चलाउन तथा संवेदनशील सूचनाहरू प्राप्त गर्न सक्ने खतरा रहेको छ।

कति गम्भीर छन् यी त्रुटिहरू?

पहिलो त्रुटि (CVE-2026-109618): 'आउट अफ मेमोरी करप्सनमार्फत रिमोट कोड एक्जिक्युसन' भनिएको यस त्रुटिमा, अनुरोध प्रशोधन गर्दा मेमोरीसम्बन्धी समस्या आएर अपूर्ण डेटालाई वैध ठान्दा प्रणालीमा गम्भीर गडबडी उत्पन्न हुन्छ।

दोस्रो त्रुटि (CVE-2026-109619): 'स्टेल ग्लोबल स्टेटमार्फत रिमोट कोड एक्जिक्युसन' भनिने यस कमजोरीमा पुरानो अनुरोधको मेमोरी पुनः प्रयोग हुँदा आक्रमणकारीलाई सर्भरमा अनधिकृत पहुँच पुर्‍याउने जोखिम हुन्छ।

कमन भल्नरेबिलिटी स्कोरिङ सिस्टम (CVSS) अन्तर्गत यी दुवै त्रुटिलाई अत्यन्तै उच्च जोखिम जनाउने ९.२ अंक प्रदान गरिएको छ। विश्वभरका करिब ७० प्रतिशत वेबसाइटहरू पीएचपीमा आधारित रहेकाले वर्डप्रेस, जुम्ला, ड्रुपल र विकिपिडियालगायतका प्लेटफर्महरू समेत यसको प्रभाव क्षेत्रमा पर्छन्। पीएचपी विकास टोलीले सुरक्षा अद्यावधिक (Update) सार्वजनिक गरिसकेको छ भने सुरक्षा परीक्षण र अद्यावधिकको काम पूरा हुनासाथ सरकारी वेबसाइटहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट