बिग्रिएर ४ घण्टासम्म ठप्प पार्ने ‘एयर फिल्ड लाइटिङ’ के हो?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएपछि विमानस्थल ४ घण्टा ठप्प बनेको थियो। शनिबार दिउँसो करिब ५ः३० बजेदेखि समस्या देखिन थालेको लाइटिङ प्रणाली मर्मत भएपछि अहिले राती ९ः५० मा विमानस्थल संचालन पुनः सुरु भएको छ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले भने, “अहिलेलाई समस्या समाधान भइसकेको छ र विमानस्थल सञ्चालनमा आएको छ। समस्या कसरी आएको हो भन्ने बारे थप अध्ययन पछि मात्र स्पष्ट जानकारी दिन सकिन्छ।”
लाइटिङ प्रणालीमा समस्या आएपछि रातिको समयमा धावनमार्गमा जहाज अवतरण तथा उडान गर्न असमर्थ भएको थियो। यस कारणले केही अन्तर्राष्ट्रिय जहाजहरू आकाशमा ‘होल्ड’मा राखिएको थियो भने केहीलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो। आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका थिए।
विमानस्थल सञ्चालनमा पुनः आएको जानकारीसहित नेपाल एयरलाइन्सको जहाज अहिले सुरक्षित रूपमा ल्यान्ड भएको छ।
‘एयर फिल्ड लाइटिङ’ के हो?
रातको समयमा विमानस्थलको धावनमार्ग उज्यालो बनाउने बत्ती प्रणालीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ। यो प्रणाली बिना जहाजको अवतरण र उडान सुरक्षित रूपमा गर्न सम्भव हुँदैन।
विमानस्थलका प्राविधिक र प्रशासनिक टोलीले लाइटिङ प्रणालीमा देखिएको समस्यालाई मर्मत गर्न तत्काल कदम चाल्दा करिब ४ घण्टापछि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको प्रवक्ता शेर्पाले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस