‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै
सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापना भएको एक वर्ष पूरा गरेको छ। नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरण गरिएको पीएसबी नेपालले आज आफ्नो प्रथम वार्षिकोत्सव मनाउँदैछ।
वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘एनटिभी वर्ल्ड’ च्यानलको औपचारिक शुभारम्भ हुने कार्यक्रम तय गरिएको छ। पीएसबी नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टका अनुसार उक्त च्यानल नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रूपमा सञ्चालन गर्ने योजना अनुरूप सुरु गर्न लागिएको हो। उनले बताएअनुसार ‘एनटिभी वर्ल्ड’ ले अन्तर्राष्ट्रिय दर्शकका लागि नेपाल बुझाउने सामग्री प्रसारण गर्नेछ।
विश्वमा सार्वजनिक सेवा प्रसारण (पीएसबी) को अभ्यास सन् १९२० को दशकदेखि सुरु भए पनि नेपालमा यसको परिकल्पना प्रजातन्त्र पुनःस्थापनापछि गरिएको हो। विज्ञहरू सम्मिलित कार्यदल र सञ्चारसम्बन्धी आयोगहरूको सिफारिसका आधारमा सङ्घीय संसदले सार्वजनिक सेवा प्रसारणसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ पारित गरेको थियो।
उक्त विधेयक २०८१ असोज २२ गते राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको थियो। ऐनको व्यवस्था अनुसार प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेदेखि सो कानून कार्यान्वयनमा आएको हो।
कानून कार्यान्वयनसँगै रेडियो प्रसार सेवा विकास समिति गठन आदेश, २०४१ अन्तर्गत रहेको रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन दुवैलाई सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण गरिएको हो। सोही प्रक्रिया अन्तर्गत लोकसेवा आयोगका अध्यक्ष संयोजक रहेको सिफारिस समितिको सिफारिसमा २०८१ पुस १ गते डा. महेन्द्र विष्ट पीएसबी नेपालका पहिलो कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस