५ सय रुपैयाँ फिर्ता नदिँदा महिलाको हत्या
काठमाडौँ महानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रमा शनिबार फेला परेको शव महिलाको भएको पुष्टि भएको छ। प्रारम्भिक रूपमा अनुसन्धान अधिकृतहरूले शव तेस्रो लिंगी व्यक्तिको हुन सक्ने अनुमान गरेका थिए। तर त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि उक्त शव महिलाको भएको स्पष्ट गरेका छन्। पोस्टमार्टम रिपोर्ट भने आएको छैन।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति उदयपुर घर भएका सूर्य मगर हुन्। सडकछेउ तन्नामा बेरिएको अवस्थामा भेटिएको शवको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सूर्य मगर बसपार्कस्थित एक होटलमा भान्सेका रूपमा कार्यरत थिए। मृतक महिलाले आफूसँग लिएको ५ सय रुपैयाँ फिर्ता नदिँदा विवाद उत्पन्न भएको र सोही विवादको क्रममा उनले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार मृतक महिलाले आफू रुकुमबाट आएको बताएकी थिइन्। तर उनको वास्तविक पहिचान खुल्न बाँकी रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी रमेश बस्नेतले जानकारी दिए।
घटनाबारे थप विवरण सार्वजनिक गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस