Techie IT
२०८३ मंसिर ११, बिहीबार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३३ करोड ४२ लाख राजस्व सङ्कलन


सन् २०२६ को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यस याममा नेपालका ५० वटा हिमाल आरोहणका लागि १९० आरोहण दलका एक हजार ६३३ जनालाई अनुमति प्रदान गरिएको हो । विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमध्ये एक हजार २५३ पुरुष र ३८० महिला रहेका छन् ।

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै फ्रान्सका नागरिक रहेका छन् । विभागको तथ्याङ्कअनुसार फ्रान्सका १५०, चीनका १४६, अमेरिकाका १३०, रुसका १२४, बेलायतका ११२, जर्मनीका १०२ र नेपालका ९० जना आरोही छन् । यस्तै, स्पेनका ५६, स्विट्जरल्याण्डका ५२, अस्ट्रेलियाका ४६ तथा चेक रिपब्लिकका ४२ आरोहीले अनुमति लिएका छन् ।

विभागले अगस्टको अन्तिम सातादेखि प्रदान गरेको आरोहण अनुमतिबापत कुल २१ लाख ९७ हजार ७१० अमेरिकी डलर अर्थात् ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजस्व (रोयल्टी) सङ्कलन गरेको छ ।

यस सिजनमा आरोहीहरूको सबैभन्दा पहिलो रोजाइ मनास्लु हिमाल (८,१६३ मिटर) बनेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोही (३७३ पुरुष र १२७ महिला) ले अनुमति लिएका छन्, जसबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ राजस्व उठेको छ ।

यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ४० टोलीका ४७६ जनाले अनुमति लिएका छन्, जसबाट सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् भने उनीहरूबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ राजस्व उठेको छ ।

यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोहीले अनुमति लिँदा ७९ लाख ७४ हजार २० रुपैयाँ र मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिँदा छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

यस्तै, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति प्रदान गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट