खराब मौसम: तीन अन्तर्राष्ट्रिय उडानहरू भारतीय आकाशमै "होल्ड"

खराब मौसमका कारण तीन अन्तर्राष्ट्रिय उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न असफल भएका छन्। चाइना साउदर्न एयरलाइन्स, थाइ एयरवेज, र इन्डिगो एयरलाइन्सका विमानहरू नेपाल नजिकको भारतीय आकाशमा ‘होल्ड’ भएका हुन्, जसले गर्दा विमानहरूलाई तोकिएको समयमा अवतरण गर्न कठिनाइ भएको हो।
चाइना साउदर्न एयरलाइन्सको विमान ग्वाङझाउबाट काठमाडौँतर्फ उडान गर्दै थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण अवतरणका लागि वातावरण उपयुक्त नहुँदा, विमानलाई सर्लाही जिल्लानजिक पर्ने भारतीय क्षेत्रको आकाशमा ‘होल्ड’ गरिएको छ।
यसैगरी, बैंककबाट काठमाडौँ आइरहेको थाइ एयरवेजको अर्को विमान पनि अवतरण प्रयासका क्रममा अवरोधमा परेको छ। बारा जिल्लाको आकाशमा ‘होल्ड’ गरिएको यो विमानले अवतरणको तयारी गरेको थियो, तर 'मिस एप्रोच' पछि पुनः आकाशमा फन्को मार्न बाध्य भयो।
यस्तै, नयाँ दिल्लीबाट काठमाडौँ आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि बाराको आकाशमा लामो समयसम्म 'होल्ड' गरिएको छ। मौसमको प्रतिकूलताले गर्दा त्रिभुवन विमानस्थलमा अवतरणका लागि उपयुक्त समय पर्खनु परेको विमान कम्पनीहरूले बताएका छन्।
विमानस्थल स्रोतका अनुसार मौसम सुधार भएलगत्तै यी विमानहरूलाई सुरक्षित अवतरणका लागि अनुमति दिइनेछ। त्रिभुवन विमानस्थलमा विशेष गरी वर्षायाममा खराब मौसमका कारण यस्ता समस्या बेलाबखत हुने गरेको छ। यात्रुहरूलाई सम्भावित ढिलाइका लागि सचेत रहन र आवश्यकताअनुसार वैकल्पिक व्यवस्था गर्न विमान कम्पनीहरूले आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस