भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ द्वारा बाढी पीडितका लागि १ करोड ११ लाख सहयोग

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले हालै आएको बाढी र पहिरोबाट प्रभावित मानिसहरूका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको सहयोग दिएका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत उनले यस सहयोगलाई बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरेका हुन्।
गुरुङले पछिल्लो समय परेको अविरल वर्षाले हजारौं नागरिकलाई विस्थापित गराएको भन्दै सरकारी राहत कोषमा सहयोग गर्नु मानवता र नागरिकको दायित्व भएको बताएका छन्। उनले भने, “ अर्बौँ रुपैयाँको क्षति भएको अवस्थामा मुलुकलाई सहारा दिन आवश्यक छ।”
भाटभटेनीका सीओ पानु पौडेलले सो रकम सरकारले आवश्यक राहत कार्यमा प्रयोग गर्नका लागि हस्तान्तरण गरिएको जानकारी दिए। हालसम्म बाढी र पहिरोका कारण देशभर २०९ जनाले ज्यान गुमाएको र २९ जना बेपत्ता रहेका छन्।
समाजसेवामा गुरुङको सक्रियता
गुरुङले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा महत्वपूर्ण योगदान दिएका छन्। उनले डा. भगवान् कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँको सहयोग गरेका छन्। यसअगाडि, जाजरकोटमा गएको भूकम्पपछि पनि उनले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ र ८० लाख बराबरको खाद्यान्न राहतका रूपमा पठाएका थिए।
शिक्षा क्षेत्रमा पनि योगदान
कोभिड-१९ महामारीको समयमा पनि उनले संघीय सरकार र प्रदेशमा राहत प्रदान गरेका थिए। उनले २०६८ सालमा त्रिवि शिक्षण अस्पतालका लागि ११ करोडको इमर्जेन्सी भवन र १५ करोडको ईएचएस भवन निर्माण गराइएका छन्।
अहिलेसम्म उनले १४ जना विद्यार्थी लाई एमबीबीएसको अध्ययन गराउन सहयोग गरेका छन्, । उनिहरुले अब स्थानीय स्तरमा स्वास्थ्य सेवामा योगदान गर्दैछन्। यसरी, गुरुङले आफ्नो सामाजिक दायित्वलाई निरन्तरता दिइरहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस