Techie IT
२०८२ भाद्र ३१, मंगलबार

सरकारको समन्वयको कमिले विपदमा ठूलो क्षतीः विज्ञ


नेपालमा पछिल्लो समय आएको वर्षा र बाढीले निम्त्याएको विपद्को व्यवस्थापनमा तयारी र समन्वयको अभावले ठूलो जनधनको क्षति भएको निष्कर्ष निकालिएको छ। ग्लोबल सेन्टर फर क्लाइमेट एण्ड सेक्युरिटी गभर्नेन्स (जिसिएसजि) ले आयोजना गरेको ‘विपद् र उद्धार कार्य: आवश्यकता र मूल्यांकन’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले जल तथा मौसम विज्ञान विभागले समयमै पूर्वानुमान गरे पनि अन्य सरोकारवाला निकायहरूले आवश्यक तयारी र समन्वय गर्न नसक्दा उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरे।

विपद् व्यवस्थापनमा तयारी र समन्वयको कमी
कार्यक्रममा वक्ताहरूले बाढी तथा वर्षाका लागि सुरक्षा निकायहरूमा पर्याप्त उपकरण, दक्ष जनशक्ति, र बन्दोबस्तीका सामग्रीको कमी मुख्य चुनौती भएको बताए। उद्धार कार्यमा खटिएका सुरक्षा निकायहरूसँग पर्याप्त साधन र तालिम प्राप्त जनशक्ति नभएकाले जनधनको क्षति बढी भएको उनीहरूको भनाइ छ।

कार्यक्रममा सहभागिता जनाएका पूर्वउपसभामुख पुष्पा भुसाल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री सीता गुरुङ, पूर्वसांसद दीपक प्रकाश भट्ट, पूर्वरथी बालानन्द शर्मा र सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराम खत्रीले विपद् व्यवस्थापनको तयारी र योजना दीर्घकालीन र व्यवस्थित हुनुपर्नेमा जोड दिए।

प्रमुख नेताहरू र अधिकारीको अनुपस्थिति
कार्यक्रममा वक्ताहरूले विपद्को बेला देशका शीर्ष नेतृत्व र उच्च अधिकारीहरूको अनुपस्थितिमा उद्धार कार्यमा समन्वयमा कमजोरी देखिएको उल्लेख गरे। प्रधानमन्त्री, अर्थमन्त्री, प्रहरी महानिरीक्षक, र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखहरू विदेशमा हुनु, र मुख्य सचिवको काठमाडौंबाहिर बसाइँले जिम्मेवार निकायहरूको प्रभावकारी समन्वयमा कमी ल्याएको उनीहरूको भनाइ छ।


नेपालमा विपद् व्यवस्थापन, रोकथाम र उद्धारका लागि कानूनी ऐन र नियमहरू भए पनि तिनको कार्यान्वयन पक्ष कमजोर रहेको धारणा व्यक्त गर्दै सहभागीहरूले यस घटनाले सरकार र अन्य सरोकारवाला निकायहरूलाई महत्वपूर्ण शिक्षा दिएको बताए।

विशेषज्ञहरूले आवश्यक उपकरण र स्रोतसाधनसँगै समयमै पूर्वतयारी गर्नुपर्नेमा जोड दिए। उनीहरूका अनुसार हरेक वर्ष देखिने विपद्का समस्याहरूलाई दीर्घकालीन नीति, योजना र तत्काल कार्यान्वयन गर्न सक्षम एकीकृत संरचना आवश्यक रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट