Techie IT
२०८२ श्रावण १०, शनिबार

क्लाइम्बिङको मैदानमा चम्किएकी स्वस्तिका, नेपाललाई विश्वमा चिनाउने यस्तो छ सपना


नेपालको क्लाइम्बिङ खेल क्षेत्रमा एक चम्किलो नाम बनिसकेकी छन्, स्वस्तिका चौधरी । २५ वर्षीया स्वस्तिकाले 'वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५' को उपाधि जित्दै आफूलाई राष्ट्रिय स्तरमा स्थापित गरेकी हुन्।

क्लाइम्बिङ भन्नेबित्तिकै हिमाल चढ्ने वा रक क्लाइम्बिंग मात्रै भन्ने बुझाइ भएपनि नेपालमा यो अब एक प्रतिस्पर्धात्मक खेलको रूपमा पहिचान बनाउँदै छ। त्यही खेलमा स्वस्तिकाले देखाएको सफलता उनको निरन्तर संघर्ष र लगनको परिणाम हो।

“सपना त पूरा भयो, तर यात्रा अझ बाँकी छ” । नवलपरासीको रामग्राम नगरपालिका–१३ की स्वस्तिका भन्छिन्, “नेशनल च्याम्पियन बन्नु गर्वको कुरा हो । तर यहीँ रोकिनु हुँदैन। अझ धेरै गर्न बाँकी छ।” सन् २०१६ देखि क्लाइम्बिङको यात्रा सुरु गरेकी स्वस्तिकाले कहिले दोस्रो, कहिले तेस्रो हुँदै अहिले पहिलो स्थान जितेकी हुन् । त्यो यात्रा सजिलो थिएन । सीमित स्रोत-साधन, आर्थिक चुनौती र अपेक्षाभन्दा कम चर्चा पाएको खेलको कठिनाइबीच पनि उनले आफ्नो लगन गुमाइनन् ।

काठमाडौंमै जन्मिएकी र हुर्केकी स्वस्तिकाले स्कुल जीवनदेखि नै अतिरिक्त क्रियाकलापमा सक्रियता देखाएकी थिइन्। स्काउटमार्फत उनले पहिलोपटक क्लाइम्बिङको अनुभव लिएकी थिइन्। "सुरुमा मौका पाइनँ, तर जिद्दी गरेपछि सहभागी हुन पाएँ," उनी सम्झिन्छिन्, "त्यसपछि यो खेलप्रति झन् मोह बढ्यो।"

उनको पहिलो औपचारिक प्रतिस्पर्धा बालाजुमा थियो। त्यसपछि एस्ट्रेक वाल हुँदै उनले विभिन्न स्थानीय प्रतियोगिताहरूमा भाग लिइन्। प्रारम्भिक चरणमा पोडियमसम्म नपुगेकी उनी अनुभव बटुल्दै अघि बढिन्।

सन् २०१६ मा उनले इरानमा आयोजित एसियन युथ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिन्। त्यसपछि २०१७ मा भारतमा भएको आईएफएससी वर्ल्ड कप र सिंगापुरको एसियन युथ च्याम्पियनसिपमा समेत सहभागी भइन्।

“बाहिरको प्रतिस्पर्धाले आँखै खोलिदियो,” उनी भन्छिन्, “त्यहाँको माहोल, क्लाइम्बरहरूको मेहनत र खेलप्रतिको दृष्टिकोण फरक थियो। त्यसले मलाई अझै प्रेरणा दियो।”

क्लाइम्बिङलाई निरन्तरता दिँदै उनले अब एक दशक पूरा गरेकी छन्। तर यो यात्रामा उनले आर्थिक कठिनाइ, स्रोतको अभाव र अवसरको सीमितता जस्ता चुनौतीहरू पनि झेलेकी छन्। "क्लाइम्बिङले मात्रै जीवन चल्दैन। त्यसैले ट्रेकिङ गाइड, इन्स्ट्रक्टर र मार्केटिङको काम पनि गरेँ," उनी सुनाउँछिन्।

तर जुनसुकै कठिनाइ आए पनि स्वस्तिकाले क्लाइम्बिङ छाड्ने सोचिनन् । उनको लक्ष्य भनेको अब अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहर्याउँदै पदक जित्नु हो ।

स्वस्तिकाको विश्वास छ, निरन्तर प्रशिक्षण र आवश्यक सहयोग भए त्यो सपना सम्भव छ । “स्पोर्ट्स क्लाइम्बिङमा नेपालमा क्षमता छ, तर संरचना र प्रशिक्षणको अभाव छ,” उनी भन्छिन्, “बाहिर गएर आधुनिक शैलीमा प्रशिक्षण गर्न पाए अझ राम्रो हुने थियो।”

स्वस्तिकाको अपेक्षा छ—नेपाल सरकार र निजी क्षेत्रले यस्ता खेलमा पनि लगानी गर्नुपर्छ। "स्पोर्ट्स क्लाइम्बिङ अन्तर्राष्ट्रिय स्तरमा नेपाल चिनाउने माध्यम हुन सक्छ," उनी भन्छिन्, "तर हामीसँग स्रोत र अवसर सीमित छन्। त्यसैले सहयोग भयो भने धेरै खेलाडीले सफलता ल्याउन सक्छन् ।"

स्वस्तिका चौधरीको कथा एउटा प्रेरणा हो—जहाँ रूचि, मेहनत र निरन्तरताले कसरी सफलता निर्माण गर्न सक्छ भन्ने देखिन्छ । अहिले उनी राष्ट्रिय च्याम्पियन छिन्, भोलि अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउने सपना बोकेकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट