बंगलादेशमाथि भारतको शानदार जित, एसिया कपको फाइनलमा प्रवेश
एसिया कप क्रिकेटको फाइनलमा भारत प्रवेश गरेको छ। सुपर फोरको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।
बुधबार राति यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो। भारतका लागि ओपनर अभिषेक शर्माले ३७ बलमा पाँच छक्का र ६ चौकासहित ७५ रनको शानदार अर्धशतक बनाएका थिए । हार्दिक पाण्डेयले ३८ रन तथा शुभमन गिलले २१ रन जोडे। अन्य ब्याट्सम्यान भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। बंगलादेशका रिशाद हुसैनले दुई विकेट लिए भने ताजिम हसन, मुस्तफिजुर रहमान र मोहम्मद सैफुद्दिनले एक–एक विकेट हात पारे।
१६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा अलआउट हुँदै १२७ रनमै सीमित भएको थियो । बंगलादेशका साहिद हसनले ५१ बलमा पाँच छक्का र तीन चौकासहित ६९ रनको अर्धशतक बनाए। प्राभेज हुसेनले २१ रन जोडे भने अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल भए। भारतका सुलदीप यादवले तीन विकेट लिए भने जसप्रित बुमराह र वरुण चक्रवतीले दुई–दुई विकेट हात पारे। अक्षर पटेल र तिलक बर्माले एक–एक विकेट लिएका थिए।
अब एसिया कपको फाइनलमा भारतले बंगलादेश र पाकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आगामी सेप्टेम्बर २८ मा हुने तय भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस