वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै युनिटी कप कब्जा
नेपालले टेस्ट राष्ट्रविरुद्ध पहिलो पटक शृंखला जितेको इतिहास रचेको छ ।

यूएईमा जारी युनिटी कप टी–२० शृंखलामा नेपालले वेस्ट इन्डिजलाई लगातार दोस्रो खेलमा पराजित गर्दै शृंखला एक खेल अगावै जितेको छ।
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो र नेपालले ९० रनको फराकिलो अन्तरले जीत हासिल गरेको छ ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए, तर टिमले खेलमा कहिल्यै नियन्त्रण कायम गर्न सकेनन् । नेपालका आदिल आलमले ४ ओभरमा मात्र २४ रन खर्चेर ४ विकेट लिएका थिए । कुशल भुर्तेलले ३ विकेट लिए भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारेका थिए ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए भने सन्दीप जोरा ३९ बलमा ६३ रन बनाउँदै अर्धशतकीय पारी खेलेका थिए । नेपाल ४३–३ को अवस्थामा थियो, त्यसबेलादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए । जेदिया ब्लेड्सले पनि १ विकेट लिन सफल भए ।
यसअघि पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो । दोस्रो खेलमा पनि जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध पहिलो पटक शृंखला जितेर इतिहास रचेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस