Techie IT
२०८२ असोज ३१, शुक्रबार

विश्वकप छनोटमा नेपालको सुपर-६ स्थान पक्का


नेपालले आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड ईएपी छनोटमा सुपर-६ मा स्थान पक्का गरेको छ।

समूह-२ को खेलमा बिहीबार जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापान अन्तिम खेलअघि नै सुपर-६ मा पुग्न सफल भएका हुन्। कुवेतले लगातार दुई खेलमा हार बेहोरेपछि समूह चरणबाट बाहिरिएको छ।

यसअघि बुधबार नेपालले कुवेतमाथि ५८ रनको जित निकाल्दै राम्रो सुरुवात गरेको थियो। बिहीबार जापानले पनि कुवेतमाथि ५ विकेटको जित हात पारे। कुवेतले दिएको १७८ रनको लक्ष्य जापानले ३ बल खेल्न बाँकी रहँदा ५ विकेटमा पूरा गर्‍यो।

जापानका लागि इसम रहमानले ३९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए। ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले १९ बलमा २८ रन र रविचन्द्रनले २९ बलमा ३९ रन बनाए। ताकाहाशीले १५ बलमा ३ छक्का प्रहार गर्दै २६ रन जोडे।

अब नेपाल र जापानबीच शुक्रबार अपरान्ह समूह विजेताका लागि खेल हुनेछ। यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ किनभने समूह चरणको अंक सुपर-६मा पनि गनिने छ।

छनोटबाट तीन टोलीले आगामी वर्ष फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन्। यस क्रममा सुपर-६ मा पुगेपछि नेपालले विश्वकपमा छनोट हुन शीर्ष तीनमा पर्नु आवश्यक हुनेछ।

एसिया छनोटको अन्य समूहहरूमा मलेसिया, कतार, युएई तथा ओमान, पिएनजी र सामोआ छन्। प्रत्येक समूहको शीर्ष दुई टोली सुपर-६ मा पुग्नेछन्। सुपर-६ मा समूहकै टोलीविरुद्धको अंक पनि गनिने भएकाले समूह चरणको जित महत्वपूर्ण हुन्छ।

शीर्ष तीनमा पर्न सफल भएमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ। नेपाली टोलीले भर्खरै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिज २–१ ले जितेर इतिहास रचेको थियो र अब अर्को इतिहास रच्ने लक्ष्यमा छ।

समूह विभाजन:

समूह १ – युएई, मलेसिया, कतार

समूह २ – नेपाल, कुवेत, जापान

समूह ३ – ओमान, पिएनजी, सामोआ



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट