Techie IT
२०८२ कार्तिक २५, मंगलबार

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमा सञ्चालन हुने


नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा आयोजना हुने भएको छ। सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका सबै खेल फ्लडलाइटको सुविधा सहित सञ्चालन हुने तय भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्टस् र काठमान्डु गोर्खाज भिड्नेछन्। खेल मंसिर १ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ। प्रतियोगितामा पहिले संस्करणकै आठ टोली सहभागी छन्।

फ्लडलाइट जडान अन्तिम चरणमा

हाल त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ। प्रोजेक्ट म्यानेजर सौरभ साह का अनुसार एनपीएल फ्लडलाइटमा सञ्चालन गर्ने लक्ष्यअनुसार दैनिक तीव्र गतिमा काम भइरहेको छ। उनले भने, “भौतिक प्रगति ९० प्रतिशतभन्दा माथि पुगेको छ। आगामी बुधबार वा बिहीबारसम्म सबै पोलमा लाइट जडान भइसक्नेछ।”

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०८१ असार ३१ मा गरेको थियो। सात महिनापछि फ्लडलाइट र प्यारापिटको काम सुरु भएको थियो। प्यारापिट निर्माणका लागि ठेकेदार कम्पनीसँग ४३ करोड ७७ लाख रुपैयाँमा सम्झौता भएको थियो र १० हजार प्यारापिटको काम सम्पन्न भइसकेको छ।

फ्लडलाइट निर्माणका लागि सहरी विकास मन्त्रालयले ०८१ फागुन २२ मा विशन ईश्वरी जेभीसँग ४२ करोड १८ लाख रुपैयाँको सम्झौता गरेको थियो। जडान भइसकेपछि सबै फ्लडलाइटको अन्तिम परीक्षण गरिने छ। हाल ३५० भन्दा बढी लाइट जडान भइसकेको छ भने बाँकी १७० लाइट यही सातासम्म जडान गरिने साहले बताए।

साहले थपे, “परीक्षण प्राविधिक प्रक्रिया भएकाले मैदानमा हाल पोजिसन टेस्टिङ भइरहेको छ। सबै पोलमा फ्लडलाइटको अन्तिम परीक्षण सम्पन्न भएपछि एनपीएल खेल फ्लडलाइटमा सुचारु रूपमा सञ्चालन गर्न सकिनेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट