नेपाल प्रिमियर लिगको आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ
नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एन्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सँग आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा साझेदारी गरेको छ। यस साझेदारीले नेपालकै सबैभन्दा ठूलो र लोकप्रिय टी–२० क्रिकेट लिगलाई विश्वभर व्यापक रूपमा प्रयोग हुने राइड–शेयरिङ एप इनड्राइभसँग जोडेको छ।
कम्पनीका अनुसार, साझेदारीले इनड्राइभलाई युवा तथा खेलकुद समुदायसँगको संलग्नता थप बलियो बनाउनेछ र नेपाली बजारमा आफ्नो पहुँच विस्तार गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ। यात्रु र चालकले प्रत्यक्ष भाडा तय गर्ने मोडेलमा आधारित इनड्राइभले निष्पक्षता, पारदर्शिता र स्वतन्त्रतालाई प्राथमिकता दिने उल्लेख गर्दै, यी मूल्यहरू एनपीएलको भावना र सिद्धान्तसँग मेल खाने बताइएको छ।
इनड्राइभका नेपाल कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले साझेदारीबारे उत्साह व्यक्त गर्दै भनिन्, “नेपाल प्रिमियर लिग जस्तो प्रतिष्ठित र विशाल क्रिकेट लिगसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ। क्रिकेटले देश–विदेशमा रहेका नेपालीलाई एकजुट गर्छ र यस साझेदारीले हामीलाई त्यो ऊर्जा नजिकबाट महसुस गर्ने मौका दिएको छ। इनड्राइभले सहज, सुरक्षित र लचिलो मोबिलिटी सुनिश्चित गर्दै पारदर्शिता र स्वतन्त्रताको माध्यमबाट मानिसलाई सशक्त बनाउँछ, जुन क्रिकेटको भावना र एनपीएलको सिद्धान्तसँग मेल खान्छ। हामी यो सिजनलाई अझ रोचक, सहज र स्मरणीय बनाउने अपेक्षा गर्छौँ।”
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले इनड्राइभलाई एनपीएल परिवारमा स्वागत गर्दै भने, “इनड्राइभलाई आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ। समुदायलाई सशक्त बनाउने र सहज पहुँच उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धता र क्रिकेटमार्फत समावेशिता तथा खेलभावना प्रबर्द्धन गर्ने हाम्रो उद्देश्य एकअर्कासँग मेल खान्छ। इनड्राइभको सहभागिताले यस सिजनमा फ्यानको अनुभव झनै उत्कृष्ठ र उत्साहपूर्ण बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस