Techie IT
२०८२ मंसिर २, मंगलबार

एनपीएल–२ : आज चितवन राइनोज–कर्णाली याक्स र विराटनगर किंग्स–पोखरा एभेन्जर्स भिड्दै


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुनेछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। चारै टोलीको उद्देश्य प्रतियोगितामा सुखद सुरुआत गर्ने रहनेछ।

चितवन राइनोजको कप्तानी कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सलाई सोमपाल कामीले नेतृत्व गर्नेछन्। यस्तै विराटनगर किंग्सको कमान्ड सन्दीप लामिछानेका हातमा रहनेछ भने पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल हुनेछन्।

गत संस्करणमा चितवन र कर्णाली दुईपटक भिडेका थिए। लिग चरण र प्लेअफ दुवै खेलमा कर्णाली याक्सले जित निकालेको थियो।

विराटनगर र पोखराबीच गत संस्करणमा भएको एक मात्र खेलमा पोखराले विजयी भएको थियो। त्यस खेलमा रेमन रेइफर उत्कृष्ट प्रदर्शन गर्दै नायक बनेका थिए। रेइफर यस संस्करणमा पनि पोखराबाटै खेल्दै छन्।

यसअघि सोमबार भएको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले सुखद सुरुआत गरेको छ। सोसँगै काठमाडौंले अंकतालिकामा दुई अंक जोडेको छ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ। विजेताले रु १ करोड १० लाख प्राप्त गर्ने क्यानले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट