टी-२० विश्वकप: नेपाललाई फलामको चिउरा, समूह चरणमै दुई ‘हेभीवेट’ प्रतिद्वन्द्वी
नेपाल सम्मिलित समूह ‘सी’ मा दुई–दुई पटकका टी-२० विश्वविजेता राष्ट्रहरू इंग्ल्यान्ड र वेस्ट इन्डिज रहेका छन्
आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। मंगलबार भारतको मुम्बईमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको समूह विभाजन अनुसार नेपाल कठिन मानिएको समूह ‘सी’ मा परेको छ।
विश्वविजेताहरूसँग नेपालको परीक्षा हुने देखिएको छ । तालिका अनुसार नेपाल सम्मिलित समूह ‘सी’ मा दुई–दुई पटकका टी-२० विश्वविजेता राष्ट्रहरू इंग्ल्यान्ड र वेस्ट इन्डिज रहेका छन्। यसबाहेक टेस्ट राष्ट्र बंगलादेश र युरोपेली राष्ट्र इटाली पनि यही समूहमा छन्।
नेपालले आफ्नो विश्वकप यात्राको सुरुआत नै बलियो टोली इंग्ल्यान्डसँग खेल्दै गर्नेछ। यो खेल फेब्रुअरी ८ मा मुम्बईस्थित प्रसिद्ध वान्खडे स्टेडियममा हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले इंग्ल्यान्डसँग खेल्न लागेको यो पहिलो अवसर हो। यसअघि नेपालले भारत, पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिका जस्ता टेस्ट राष्ट्रहरूसँग खेलिसकेको छ।

नेपालको खेल तालिका नेपालका सबै खेलहरू भारतको मुम्बईमा हुनेछन्।
पहिलो खेल: फेब्रुअरी ८ – विरुद्ध इंग्ल्यान्ड
दोस्रो खेल: फेब्रुअरी १२ – विरुद्ध इटाली
तेस्रो खेल: फेब्रुअरी १५ – विरुद्ध वेस्ट इन्डिज
चौथो खेल: फेब्रुअरी १७ – विरुद्ध बंगलादेश
गत संस्करणको टी-२० विश्वकपमा पनि नेपाल दक्षिण अफ्रिकासँग एउटै समूहमा थियो। उक्त खेलमा नेपाल ऐतिहासिक जितको नजिक पुगेर पनि १ रनको झिनो अन्तरले पराजित भएको थियो। यसपटक पनि नेपालले ठूला टोलीहरू विरुद्ध कडा चुनौती सामना गर्ने अपेक्षा गरिएको छ।
फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्ने प्रतियोगिताका अन्य समूहहरू -
समूह ‘ए’: भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका।
समूह ‘बी’: अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड र ओमान।
समूह ‘डी’: दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा।



तपाईको प्रतिक्रिया दिनुहोस