एनपिएलमा आज दुई रोमाञ्चक खेल हुदैँ: सुदूरपश्चिमको अपराजित यात्रामा लुम्बिनीको चुनौती
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुने भएका छन्। पहिलो खेल बिहान ११:४५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ भने दोस्रो खेल अपराह्न ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुनेछ।
पहिलो खेलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले अंक तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई रोक्ने लक्ष्य राखेको छ। तीन खेलमध्ये एक जित निकाल्दै लुम्बिनी हाल २ अंकसहित छैटौँ स्थानमा छ।
उता दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम अपराजित अवस्थामा शीर्ष स्थानमा छ। उसले काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्सलाई पराजित गर्दै लगातार तीन जितबाट ६ अंक बटुलेको छ।
दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धामा उत्रिने छन्। दुवै टोलीले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेका छन्। जनकपुर काठमान्डु गोर्खाजसँग ५ विकेटले र विराटनगर किंग्ससँग ९ रनले पराजित भएको थियो। पोखरा भने विराटनगरसँग ५३ रनले र सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो।
अंक तालिकामा सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ। लुम्बिनी २ अंकसहित छैटौँ स्थानमा छ भने जनकपुर र पोखरा दुवै अंकविहीन रहँदै क्रमशः सातौँ र आठौँ स्थानमा रहेका छन्।
आज खेलेका खेलहरूले तालिकाको तल्लो भागमा रहेका जनकपुर, पोखरा र लुम्बिनीको स्थिति सुधार्ने कि सुदूरपश्चिमले पुनः अग्रता कायम राख्ने भन्ने निर्धारण गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस