नेपाल प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुने
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुने छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्नेछन्। त्यसपछि दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
सुदूरपश्चिम रोयल्स अपराजित रहँदै छ खेलमा १२ अंक जोडेर पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरिसकेकाले उसमाथि आजको खेलको दबाब छैन। तर आठ अंकसहित प्लेअफमा पुगिसकेको विराटनगर किङ्ग्सलाई पहिलो क्वालिफायरमा प्रवेश गर्न आज अनिवार्य जित आवश्यक छ।
विराटनगरले उत्कृष्ट रनरेटसहित जित निकाल्न सके सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा खेल्नेछ। अन्यथा, उसले लुम्बिनी लायन्ससँग ‘एलिमिनेटर’ खेल्नुपर्नेछ। त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्ने तालिका छ।
दिउँसो हुने दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सका लागि केवल प्रतिष्ठाको लडाइँ हुनेछ। दुवै टोलीले छ खेलबाट चार–चार अंक मात्र जोडेका छन् र प्लेअफ दौडबाट पहिल्यै बाहिरिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस