Techie IT
२०८२ मंसिर २४, बुधबार

एनपिएल प्लेअफ आजदेखि, पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

सुदूरपश्चिमले लिगको अन्तिम खेलमा स्कट कुगेलिइन र हेमन्त धामीलाई आराम दिएको थियो। त्यसैले आजको खेलमा यी दुवै बलरबाट विराटनगरका शीर्ष ब्याटरलाई रोक्ने अपेक्षा गरिएको छ।


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत प्लेअफ चरण आज (मंगलबार)देखि सुरू हुँदैछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे भिड्दै छन्। यो खेलको विजेता शनिबार हुने फाइनलमा प्रवेश गर्नेछ।

साविक उपविजेता सुदूरपश्चिमले गत सिजन जस्तै यस पटक पनि लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। ६ खेलमा लगातार जित निकाल्दै शीर्ष स्थान सुरक्षित गरेको सुदूरपश्चिमले सहजै पहिलो क्वालिफायरमा स्थान बनायो। तर अन्तिम खेलमा भने विराटनगरसँग पराजित भएको थियो । आजको भिडन्त त्यसै खेलको ‘रिम्याच’जस्तै हुनेछ।

विराटनगरले लिगको सुरुवाती चरणमा लय समाते पनि अन्तिम खेलअघि दुई खेलमा हार व्यहोर्नु परेको थियो। शीर्ष दुईमा रहन विराटनगरका लागि सुदूरपश्चिमविरुद्धका अन्तिम खेल निर्णायक बनेको थियो। १४ ओभर नपुग्दै लक्ष्य पार गर्नुपर्ने अवस्थामासमेत विराटनगरले ११.५ ओभरमै १४८ रनको लक्ष्य पूरा गरेको थियो। दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिसले १९ बलमै अर्धशतक पूरा गरेका थिए भने साम हेजलेटले पनि उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए।

सुदूरपश्चिमले लिगको अन्तिम खेलमा स्कट कुगेलिइन र हेमन्त धामीलाई आराम दिएको थियो। त्यसैले आजको खेलमा यी दुवै बलरबाट विराटनगरका शीर्ष ब्याटरलाई रोक्ने अपेक्षा गरिएको छ।

तर सुदूरपश्चिमलाई विदेशी ब्याटरमा चुनौती परेको छ। अस्ट्रेलियन जोडी क्रिस लिन घाइते भएर र जोश ब्राउन बिग ब्यासको खेल्ने प्रतिबद्धताका कारण स्वदेश फर्किएका छन्। उनीहरूको स्थानमा भारतका विकेटकिपर–ब्याटर सेलडन ज्याकसन र पाकिस्तानी ब्याटर मख्तर मानिया भित्र्याइएको छ। उनीहरूले लिन–ब्राउनको प्रभाव पूरै पुर्‍याउन सक्ने–नसक्ने आजको खेलमा स्पष्ट हुनेछ।

सुदूरपश्चिमको शीर्ष क्रममा विनोद भण्डारीसँगै नयाँ आएका ब्याटर खेल्न सक्छन्। इशान पाण्डे र आरिफ शेखले मध्यक्रम सम्हाल्नेछन्। कप्तान दीपेन्द्रसिंह ऐरी र हरमित सिंहको अलराउन्ड क्षमताले टोली मजबुत देखिन्छ। तीव्र बलिङमा कुगेलिइन, धामी र अभिनास बोहराले आक्रमक भएर उत्रिने अनुमान गरिएको छ ।

विराटनगरको शीर्ष क्रममा डु प्लेसिससँगै मार्टिन गप्टिल, जर्ज मन्सी र लोकेश बम रहनेछन्। मध्यक्रममा बसिर अहमद र नारायण जोशी अलराउन्ड भूमिकामा देखिनेछन्। कप्तान सन्दीप लामिछानेलाई स्पिनमा सुवास भण्डारी वा सूर्य तामाङले सहयोग गर्नेछन्। तीव्र बलिङतर्फ प्रतिश जिसी र मर्स्याङ डी लाङ प्रमुख बलर हुनेछन्।

आजको खेलको विजेता सीधै फाइनल पुग्नेछ भने पराजित टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा दोस्रो मौका पाउनेछ। बुधबार काठमाडौं र लुम्बिनीबीच इलिमिनेटर हुनेछ। इलिमिनेटर विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ।

विराटनगर किंग्स टोली

सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मर्स्याङ डी लाङ, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मन्सी, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, सूर्य तामाङ
प्रशिक्षक: धम्मीका प्रसाद (श्रीलंका)

सुदूरपश्चिम रोयल्स टोली

दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अभिनास बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर), हरमित सिंह, स्कट कुगेलिइन, सेलडन ज्याकसन, मख्तर मानिया, ध्रुव परासर
प्रशिक्षक: जगत टमाटा



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट