लुम्बिनी लायन्स पहिलोपटक एनपीएलको फाइनलमा, सुदूरपश्चिमसँग उपाधि भिडन्त हुने
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।
अब लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार साँझ साढे तीन बजे प्रतिस्पर्धा गर्नेछ। रोयल्सले पहिलो क्वालिफायर जित्दै लगातार दोस्रोपटक फाइनल स्थान सुरक्षित गरेको थियो।
लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७.५ ओभरमै ९४ रनमा अलआउट भयो। सामान्य लक्ष्य भए पनि विराटनगरले खराब सुरुआत गरेको थियो । पहिलो ओभरमै रुबेन ट्रम्पलम्यानले मार्टिन गप्टिल र लोशेक बमलाई पवेलियनमै झारे । दोस्रो ओभरमा पाफ डु प्लेसिस शेर मल्लद्वारा बोल्ड भएपछि विराटनगरका शीर्ष ब्याटर पूर्ण रूपमा ढलेका थिए ।
विराटनगरले चौथो विकेट ३० रनमा गुमायो, जब शंकर रानालाई तिलक भण्डारीले बोल्ड गरे। त्यसपछि साम हिजलेट र मर्स्याङ डी लाङले पाँचौँ विकेटका लागि २८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर एघारौँ ओभरमा हिजलेट ३४ रनमा क्याच आउट भएपछि विराटनगर फेरि दबाबमा पर्यो। डी लाङ पनि १७ रनमा आउट भएपछि विराटनगरको ब्याटिङ कोल्याप्स जारी रह्यो। अन्त्यतिर प्रतिश जिसी, बसिर अहमद र नरेन भट्टले बढी योगदान दिन नसक्दा टोली ९४ रनमै सीमित भयो।
लुम्बिनीका तिलक भण्डारी दिनको उत्कृष्ट बलर बने। उनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। रुबेन ट्रम्पलम्यान, जेजे स्मिट र अभिषेष गौतमले समान २–२ विकेट लिए। शेर मल्लले १ विकेट लिए। बलरहरूको अनुशासित प्रदर्शनका कारण लुम्बिनीले खेल सुरुदेखि नै नियन्त्रणमा राख्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। ओपनर डार्शी सर्टले ४५ रनको इनिङ्स खेलेका थिए। उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । सर्ट र कप्तान रोहितकुमार पौडेलबीच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भएको थियो । रोहितले ३० बलमा ३४ रन जोडेका थिए ।
विराटनगरले खेलका लागि दुई परिवर्तन गरेको थियो। नारायण जोशी र सूर्य तामाङको स्थानमा सुभाष भण्डारी र शंकर रानालाई समावेश गरिएको थियो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको विराटनगरले दोस्रो मौका पाए पनि फाइनलमा पुग्न सफल भएन। लुम्बिनी भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस