टी–२० विश्वकपबाट बंगलादेश बाहिरियो, नेपाल समूहमा स्कटल्याण्डको प्रवेश
सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा टोली पठाउन अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बंगलादेशको स्थानमा स्कटल्याण्डलाई समावेश गर्ने निर्णय गरेको हो।
यस समूहमा नेपाल पनि रहेको छ। अब नेपालले बंगलादेशको सट्टा स्कटल्याण्डसँग फागुन ५ गते मुम्बईमा प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटालीसँग खेल्ने तालिका रहेको छ।
बंगलादेश क्रिकेट बोर्डले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलाडीहरू भारत पठाउन नसकिने अडान लिएको थियो। बंगलादेशले आफ्ना खेलहरू भारतको सट्टा श्रीलंकामा सार्न आइसिसीलाई आग्रह गरेको थियो।
तर प्रतियोगिता सुरु हुन थोरै समय मात्र बाँकी रहेको र भारतमा ठूलो सुरक्षा जोखिम नदेखिएको भन्दै आइसिसीले खेल स्थल परिवर्तन गर्न नमिल्ने स्पष्ट पारेको थियो।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि विवाद चर्किएको थियो। भारत–बंगलादेश सम्बन्ध बिग्रँदै गएकाले यस्तो निर्णय आएको बंगलादेशको बुझाइ थियो। त्यसपछि बंगलादेश सरकारले सुरक्षा चिन्ताका कारण टोलीलाई भारत नपठाउने निर्णय गरेको छ । तर आइसिसीले एउटा खेलाडी र एउटा लिगसँग सम्बन्धित विषयलाई विश्वकपको सुरक्षासँग जोड्नु गलत हुने टिप्पणी गरेको छ।
आइसिसीले बंगलादेशलाई बिहीबारसम्मको समय दिएको थियो। तर अन्तिम समयसम्म पनि भारत नजाने अडान कायम राखेपछि आकस्मिक बैठक बसेर बहुमतका आधारमा बंगलादेशलाई प्रतियोगिताबाट हटाउँदै स्कटल्याण्डलाई समावेश गर्ने निर्णय गरिएको हो।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले आइसिसीले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएका छन्। सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि भारतले पाकिस्तान जान अस्वीकार गर्दा लचकता अपनाइएको तर बंगलादेशको सुरक्षा चिन्तालाई बेवास्ता गरिएको उनको दाबी छ।
बंगलादेश समूह ‘सी’ मा थियो। अब उसले खेल्ने भनिएका कोलकाता र मुम्बईका खेलहरू स्कटल्याण्डले खेल्नेछ।
बंगलादेशले आइसिसीको निर्णयविरुद्ध विवाद समाधान समितिमा जाने चेतावनी दिएको छ। यद्यपि बोर्डले बहुमतबाट निर्णय गरिसकेकाले पुनरागमनको सम्भावना कमजोर देखिएको छ।
यो विश्वकप आगामी फेब्रुअरी ७ देखि सुरु हुँदैछ। यस निर्णयसँगै बंगलादेशले ठूलो अवसर गुमाएको छ भने स्कटल्याण्डले अप्रत्याशित रूपमा विश्वकप खेल्ने मौका पाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस