पोखरामा आज यू–१९ साफ महिला फुटबलका दुई खेल हुने
पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप अन्तर्गत आज लिग चरणका दुई महत्वपूर्ण खेल हुँदैछन्।
पहिलो खेल मध्यान्ह १२ बजे बङ्गलादेश र भारतबीच हुनेछ। त्यसपछि घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भूटान दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भइसकेकाले आजको खेल उनीहरूका लागि निर्णायकजस्तै हुनेछ।
नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने प्रतियोगिताको उद्घाटन खेलमा भूटान बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले हारेको थियो। त्यसैले दुवै टोली आज दबाबमा मैदान उत्रनेछन्।
फाइनलको सम्भावना जिवित राख्न आजको खेल दुवैका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ। बङ्गलादेश र भारतले भने आ–आफ्नो पहिलो खेल जित्दै समान तीन अंक जोडिसकेका छन्।
यसपटक प्रतियोगितामा चार टोलीको सहभागिता रहेको छ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा भइरहेको छ, जहाँ प्रत्येक टोलीले अरू सबै टोलीसँग एक–एक खेल खेल्नेछन्।
लिग चरणपछि शीर्ष दुई टोली माघ २४ गते हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस