वेस्ट इन्डिजसँग नेपालको आज निर्णायक भिडन्त
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘सी’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे भारतको Wankhede Stadium मा सुरु हुनेछ।
समूह ‘सी’मा नेपाल अंकविहीन अवस्थामा छ भने वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ। नेपाल आज पहिलो जित निकाल्दै प्रतियोगितामा जीवन्त रहने लक्ष्यसहित मैदान उत्रिँदैछ। उता वेस्ट इन्डिज भने तेस्रो जित हात पार्दै ‘सुपर आठ’मा स्थान सुरक्षित गर्ने दाउमा छ।
नेपालले पहिलो खेलमा इञ्ल्यानडले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा मात्र चार रनले हार बेहोरेको थियो। निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाउँदै नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो।
तर दोस्रो खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्यो। इटालीसँग १० विकेटले पराजित हुँदै नेपाल दबाबमा परेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले बनाएको १२३ रन इटालीले बिना विकेट क्षति सजिलै भेट्टायो।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणका चारै खेल नेपालले भारतमै खेल्दैछ।
नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमार्फत पहिलोपटक विश्वकपमा स्थान बनाएको थियो। दोस्रोपटक विश्वकप खेल्न नेपाललाई १० वर्ष कुर्नुपर्यो। सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको उत्कृष्ट प्रदर्शनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाएको थियो। अघिल्लो संस्करणमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको स्मरणीय खेल अझै ताजा छ।
यसअघि दुई पटक विश्वकप खेले पनि नेपाल समूह चरण पार गर्न सकेको छैन। यस पटक पनि नेपाल रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको छ।
समूह ‘सी’मा नेपालसहित वेस्ट इन्डिज, इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। भारतमा खेल्न अस्वीकार गरेपछि बंगलादेशको स्थानमा आईसीसी वरीयताका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस