टी–२० विश्वकप २०२६: सुपर–८ मा आठ टोलीको टुंगो, यस्तो छ अबको समिकरण
आइसिसि टी-२० 2026 अन्तर्गत सुपर–८ चरणमा पुग्ने आठै टोलीको टुंगो लागेको छ। समूह चरणका केही खेल बाँकी रहे पनि अंक तालिकाको आधारमा चारै समूहबाट दुई/दुई टोली सुपर–८ मा स्थान सुरक्षित गर्न सफल भएका हुन्।
समूह ‘ए’
समूह ‘ए’ का पाँचै टोलीले सबै खेल पूरा गरेका छन्। यस समूहमा भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र नामिबिया थिए। भारतले समूह चरणका चारै खेल जित्दै शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रह्यो। पाकिस्तानले भारतबाहेक सबै टोलीलाई पराजित गर्दै ६ अंकसहित दोस्रो स्थान सुरक्षित गरेकको छ । यता, अमेरिकाले दुई खेल र नेदरल्याण्ड्सले एक खेल जिते भने नामिबिया अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।
समूह ‘बी’
समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्वे सुपर–८ मा प्रवेश गर्न सफल भएका छन्। यी दुईबीच एक खेल बाँकी छ। उक्त खेलको विजेता समूह विजेता र पराजित टोली उपविजेता बन्दै सुपर–८ मा पुग्नेछ। आयरल्याण्ड, अस्ट्रेलिया र ओमान भने समूह चरणबाटै बाहिरिएका छन्।
समूह ‘सी’
समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्याण्ड सुपर–८ मा पुगेका छन्। वेस्ट इन्डिजको ६ अंकसहित शीर्ष स्थान छ र उसले इटालीसँग खेल्न बाँकी छ। इंग्ल्याण्डको पनि ६ अंक रहेको छ। स्कटल्याण्ड, इटाली र नेपाल समूह चरणबाटै बाहिरिएका छन्।
समूह ‘डी’
समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर–८ मा प्रवेश गरेका छन्। दुवैले चारै खेल पूरा गरिसकेका छन्।
दक्षिण अफ्रिकाले चारै खेल जित्दै अपराजित यात्रा कायम राख्दा न्यूजिल्याण्डले तीन खेल जितेको छ। अफगानिस्तान, संयुक्त अरब इमिरेट्स र क्यानडा भने बाहिरिएका छन्।
सुपर–८ को समीकरण
सुपर–८ का खेल शनिबारदेखि सुरु हुनेछन्। अब समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे रहेका छन् भने समूह–२ मा इंग्ल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।
सुपर–८ चरणमा प्रत्येक टोलीले समूहका अन्य तीन टोलीसँग खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
सुपर–८ को पहिलो खेल न्यूजिल्याण्ड र पाकिस्तानबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल मार्च ८ मा आयोजना हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस