‘साम्बा’को घुँडाको शल्यक्रिया सफल, अब मैदानमा धमाकेदार कमब्याकको तयारी
सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान समेत रहेकी उनले सामाजिक सञ्जालमार्फत बुधबार बिहान अकल्यान्ड मा शल्यक्रिया सम्पन्न भएको जानकारी दिएकी हुन्।
उनका अनुसार डाक्टर साइमन र उनको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेका हुन्। लामो प्रतीक्षापछि गरिएको अप्रेसन सफल भएको बताउँदै उनले अब पुनर्स्थापनाको प्रक्रिया सुरु हुने उल्लेख गरेकी छन्।
‘साम्बा’ले भोलिदेखि चिकित्सकको निगरानीमा रिह्याब सुरु गर्ने र अवस्था सामान्य बन्दै गएपछि थप पुनर्स्थापनाका लागि एस्पेटारमा जाने योजना रहेको जनाएकी छन्।
खाडी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण कतार जान समस्या भएपछि विशेषज्ञको सल्लाहमा न्युजिल्यान्डमै शल्यक्रिया गरिएको उनले स्पष्ट पारिन्।
कठिन समयमा साथ र सहयोग गर्ने वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति उनले आभार व्यक्त गरेकी छन्। साथै आफ्नो क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमले उपचारको व्यवस्था मिलाउन गरेको सहयोगप्रति धन्यवाद दिएकी छन्।
समर्थकको माया र साथले आफूलाई थप ऊर्जा मिलेको बताउँदै उनले अब सम्पूर्ण ध्यान पुनरागमनमा केन्द्रित गर्ने उल्लेख गरेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस