देव खनाल चम्किदा स्कटल्याण्डमाथि नेपाल ‘ए’को दमदार जित
आजदेखि सुरु भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो।
स्कटल्याण्डका लागि ओपनर फिन्ले म्याक्राथले सर्वाधिक ५२ रन बनाए। उनले ७३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतकीय इनिङ खेले। यस्तै, ज्याक जार्भिसले ४५ रन जोड्दा मार्क वाटले ३७, ब्रेन्डन म्याकमुलनले २१, म्याथु क्रसले २२ तथा ओलिभर डेभिडसनले १७ रन बनाए।
नेपाल ‘ए’का लागि राशिद खानले ३ विकेट लिए भने शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान २/२ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको थियो।
नेपालका लागि देव खनालले उत्कृष्ट ६३ रनको योगदान दिए। उनले ६५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे। सन्दीप जोराले ३४, पवन सर्राफले ३१ तथा दीपक डुम्रेले अविजित २३ रन बनाएका थिए ।
स्कटल्याण्डका लागि ब्राडली करी र सफियान सरिफले समान २/२ विकेट लिए। ओलिभर डेभिडसन, ब्रेन्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १/१ विकेट लिए। नेपाल ‘ए’ले अब आफ्नो दोस्रो अभ्यास खेल भोलि अमेरिकाविरुद्ध खेल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस