Techie IT
२०८३ जेष्ठ २७, बुधबार

इतिहास दोहोर्‍याउने दाउमा अर्जेन्टिना

यसपटक उपाधि रक्षाको यात्रा अघिल्लो संस्करणभन्दा निकै कडा र चुनौतीपूर्ण देखिन्छ। मेसी मात्र होइन, टोलीका थुप्रै खम्बा मानिएका अनुभवी खेलाडीहरू उमेरको उत्तरार्धमा छन्


साविक विजेता अर्जेन्टिना सन् १९६२ पछि लगातार दुई पटक विश्वकप उपाधि जित्ने पहिलो टोली बन्ने ऐतिहासिक लक्ष्यका साथ विश्वकप २०२६ मा होमिँदैछ।

कतार विश्वकप २०२२ को रोमाञ्चक फाइनलमा फ्रान्सलाई पाखा लगाउँदै अर्जेन्टिनाले उपाधि चुम्दा धेरैले त्यसलाई लियोनल मेसीको अन्तर्राष्ट्रिय करियरको सुखद अन्त्य मानेका थिए। सन् २०२६ सम्म आइपुग्दा उनले सन्यास लिने अनुमान विपरित ३९ वर्षको उमेरमा पनि मेसी मैदानमै छन्। उत्तर अमेरिकामा इतिहास दोहोर्‍याउने दाउमा रहेका मेसीका लागि यो नै अन्तिम विश्वकप हुने लगभग निश्चित छ।

तर, यसपटक उपाधि रक्षाको यात्रा अघिल्लो संस्करणभन्दा निकै कडा र चुनौतीपूर्ण देखिन्छ। मेसी मात्र होइन, टोलीका थुप्रै खम्बा मानिएका अनुभवी खेलाडीहरू उमेरको उत्तरार्धमा छन्। यद्यपि, अर्जेन्टिनासँग नयाँ पुस्ताका प्रतिभावान खेलाडीहरूको भने कमी छैन।

ह्यामस्ट्रिङको चोटबाट पूर्ण रूपमा निको भएमा मेसीले जुन १६ मा अल्जेरियाविरुद्धको पहिलो खेलमा अर्जेन्टिनाको कप्तानी सम्हाल्नेछन्। इन्टर मियामीका लागि घरेलु लिगमा गोल गरिरहे पनि उनी सन् २०२२ को त्यो विष्फोटक लयमा भने छैनन्। यस्तो अवस्थामा यो लामो र बढी शारीरिक प्रतिस्पर्धा हुने प्रतियोगितामा उनको खेल समयलाई सावधानीपूर्वक व्यवस्थापन गर्नु प्रशिक्षकको मुख्य चुनौती हुनेछ। अब मेसीको भूमिका गोल गर्नेमा मात्र सीमित छैन; उनको उपस्थिति, नेतृत्व र खेल बुझ्ने तिखो क्षमता टोलीको मुख्य हतियार बन्नेछ। गति र शारीरिक शक्तिमा केही गिरावट आए पनि 'डेड बल' (फ्री-किक) र घातक पास निकाल्न उनी अझै उस्तै माहिर छन्।

मेसीले सेप्टेम्बर ४ मा भेनेजुएलाविरुद्धको ३–० को जित नै घरेलु मैदानमा आफ्नो अन्तिम प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेल भएको संकेत गरिसकेका छन्।

अर्जेन्टिनाको वर्तमान टोलीमा कतार विश्वकप जित्ने २६ मध्ये १७ जना खेलाडी यथावत छन्। मेसीको भूमिका मैदानमा केही सीमित भए पनि टोलीसँग विश्वविजेता बन्न आवश्यक पर्याप्त अनुभव र गुणस्तर छ।

लाउटारो मार्टिनेज घातक फर्ममा छन्। उनले इटालीको शीर्ष डिभिजन (सिरिया ए) मा १७ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जितेका थिए। उनलाई म्यानचेस्टर सिटीका स्टार जुलियन अल्भारेजले बलियो साथ दिनेछन्।

मिडफिल्डमा एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज र रोड्रिगो डी पाउल जस्ता उच्चस्तरीय खेलाडीको बलियो नियन्त्रण रहने छ ।

त्यसैगरी, डिफेन्समा निकोलस ओटामेन्डी र क्रिस्टियन रोमेरो जस्ता 'रक' डिफेन्डर छन् भने गोलपोस्टमा पेनाल्टी सुटआउटका राजा मानिने एमिलियानो मार्टिनेज छन्, जो विश्वकप जस्तो दबाबयुक्त प्रतियोगितामा अर्जेन्टिनाको सबैभन्दा ठूलो भरोसा हुन्।

टोलीमा नयाँ प्रतिभाहरू पनि उदाइरहेका छन्। इटालीमा प्रभावशाली सिजन बिताएका निको पाज र २१ वर्षीय बहुआयामिक खेलाडी भालेन्टिन बार्कोले टोलीमा स्थान बनाएका छन्। तर, प्रशिक्षक लियोनेल स्कालोनीले १८ वर्षीय विष्फोटक प्रतिभा फ्रान्को मास्तान्तुओनो र प्रिमियर लिग स्टार अलेजान्द्रो गर्नाचोलाई अन्तिम टोलीमा समावेश नगर्दा समर्थकहरू अचम्ममा परेका छन्।

अस्थिर र भावनात्मक प्रशिक्षकहरूको चक्रव्यूहमा फसेको अर्जेन्टिनालाई सन् २०१८ मा सम्हालेका स्कालोनीले टोलीलाई एक कडा र स्पष्ट पहिचान दिएका छन्। खेलाडी व्यवस्थापन र परिपक्व रणनीतिकै कारण उनले अर्जेन्टिनालाई दुई कोपा अमेरिका र एक विश्वकप दिलाइसकेका छन्।

विश्वकप छनोटमा ब्राजिललाई ४–१ ले स्तब्ध पार्दै अर्जेन्टिना शीर्ष स्थानमा रहेर छनोट भएको थियो। यदि स्कालोनीले यसपटक पनि उपाधि रक्षा गरेमा, उनी सन् १९३४ र १९३८ मा इटालीलाई लगातार विश्वविजेता बनाउने भिट्टोरियो पोज्जो पछिको पहिलो प्रशिक्षक बन्नेछन्।

कागजी रूपमा समूह 'जे' अर्जेन्टिनाका लागि सहज देखिन्छ। तर, कतार विश्वकपको पहिलो खेलमै साउदी अरेबियासँग बेहोरेको हारले अर्जेन्टिनालाई सचेत बनाएको छ।

विश्व वरीयताको २८औँ स्थानमा रहेको अल्जेरिया पहिलो खेलमै कडा चुनौती बन्न सक्छ। २४औँ स्थानको अस्ट्रिया पनि कुनै पनि टोलीलाई स्तब्ध पार्ने हैसियत राख्छ। पहिलोपटक विश्वकप खेलिरहेको जोर्डन समूहको सबैभन्दा कमजोर टोली मानिए पनि अर्जेन्टिनाले कुनै पनि खेललाई हल्का रूपमा लिने गल्ती गर्नेछैन।

तथ्याङ्कमा अर्जेन्टिना
विश्वकप सहभागिता: १८ पटक
उत्कृष्ट उपलब्धि: ३ पटक विश्वविजेता (१९७८, १९८६, २०२२)
पहिलो सहभागिता: १९३० (उरुग्वे)
विश्वकपमा सर्वाधिक गोल/खेल: लियोनल मेसी (१३ गोल, २६ खेल)
प्रमुख खेलाडी: लियोनल मेसी
विश्व वरीयता: तेस्रो



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट