Techie IT
२०८३ असार ११, बिहीबार

फिफाद्वारा नेपालमाथि प्रतिबन्ध, अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरियो नेपाल


काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ। तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै फिफा काउन्सिल ब्युरोले एन्फामाथि प्रतिबन्ध लगाएको हो।

फिफाले आफ्नो विधानअनुसार सदस्य संघहरूले स्वतन्त्र रूपमा काम गर्नुपर्ने व्यवस्था उल्लङ्घन भएको भन्दै एन्फालाई निलम्बन गरेको जनाएको छ। नेपाली फुटबल इतिहासमा फिफाबाट नेपाल प्रतिबन्धित भएको यो पहिलो घटना हो।

प्रतिबन्धसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। अब निलम्बन कायम रहुञ्जेल नेपालका राष्ट्रिय फुटबल टोली, एन्फाका प्रतिनिधि तथा नेपाली क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। साथै अन्य सदस्य राष्ट्रसँगका औपचारिक फुटबल गतिविधिहरू पनि प्रभावित हुनेछन्।

फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई मुख्य कारण मानेको छ। यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच निर्वाचन तथा संघको स्वायत्ततालाई लिएर विवाद चर्किएको थियो। राखेपले गत चैतमा एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो भने पछि उक्त निर्णय फिर्ता लिएको थियो। तर त्यसअघि जारी गरिएका केही निर्देशनहरूलाई फिफा र एएफसीले ‘तेस्रो पक्षको हस्तक्षेप’ का रूपमा व्याख्या गर्दै नेपाललाई पटक–पटक चेतावनी दिएका थिए।

फिफा र एएफसीले यसअघि नै हस्तक्षेप अन्त्य नभए नेपालमाथि तत्काल प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका थिए। अन्ततः सोही विवादका कारण फिफाले नेपाललाई निलम्बन गर्ने निर्णय गरेको हो।

यो निर्णयले नेपाली फुटबललाई ठूलो धक्का पुगेको छ। प्रतिबन्ध कायम रहुञ्जेल नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता, विकास कार्यक्रम तथा फिफाबाट प्राप्त हुने विभिन्न सहयोगसमेत गुमाउने अवस्था सिर्जना भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट