फिफा विश्वकप: नकआउट चरणमा नेदरल्यान्ड्स र मोरक्को भिड्ने
फिफा विश्वकपको नकआउट (राउन्ड अफ ३२) चरणको समीकरण रोचक बन्दै गएको छ। गएराति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा ट्युनिसियालाई ३-१ को गोलअन्तरले स्तब्ध पार्दै नेदरल्यान्ड्स समूह ‘एफ’ को विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
यो जितसँगै अब अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा नेदरल्यान्ड्सले मोरक्कोको सामना गर्ने पक्का भएको छ। मोरक्को यसअघि नै समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगिसकेको टोली हो।
विश्वकपको उपाधि दाबेदार मानिएको डच टोली र अफ्रिकन पावरहाउस मोरक्कोबीचको यो हाई-भोल्टेज खेल आउँदो मंगलबार (३० जुन) बिहान ६:४५ बजे सुरु हुनेछ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेदरल्यान्ड्स र बलियो रक्षापंक्ति भएको मोरक्कोबीचको यो खेललाई खेलप्रेमीहरूले निकै चासोका साथ हेरेका छन्। पराजित टोली प्रतियोगिताबाट बाहिरिने भएकाले दुवै टोलीका लागि यो 'गर या मर' को स्थिति हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस