Techie IT
२०८३ श्रावण १४, बिहीबार

लिग-२ मा नेपालको बिर्सनलायक प्रदर्शन: नेदरल्यान्ड्ससँग पनि पराजित, शीर्ष चारको सम्भावना समाप्त


आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो आठौँ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको प्रदर्शन बिर्सनलायक बनेको छ। नेदरल्यान्ड्समा सम्पन्न सिरिजका चारै खेलमा पराजित हुँदै नेपाल जितविहीन बनेर फर्किएको हो।

बुधबार खेलिएको सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भयो। नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमै अलआउट हुन पुग्यो।

२२६ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल शून्य रनमा आउट भएसँगै नेपालको इनिङ्स धरापमा परेको थियो। अर्का ओपनर आसिफ शेखले ७८ बलमा सर्वाधिक ३८ रन बनाए पनि अन्य ब्याटरले जिम्मेवारीपूर्वक खेल्न सकेनन्। कप्तान रोहित पौडेलले २६ र करण केसीले २३ रन जोड्नुबाहेक अन्य ब्याटर सस्तैमा समेटिए। नेदरल्यान्ड्सका केल केइनले ३ विकेट लिए।

यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो। उसका लागि नोआ क्रोइसले ७० र कप्तान स्कट एडवार्ड्सले ५७ रनको योगदान दिए। उनीहरूबीच पाँचौँ विकेटका लागि भएको १२५ रनको महत्त्वपूर्ण साझेदारी नै खेलको निर्णायक मोड बन्यो।

लगातार तीन खेलमा विकेटविहीन बनेका स्टार स्पिनर सन्दीप लामिछानेबिना मैदान उत्रिएको नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । अघिल्लो खेलमा पनि ५ विकेट लिएका करणले टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे।

यो सिरिजका चारै खेल गुमाएसँगै ३२ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको छैटौँ स्थानमा यथावत् छ। लिग-२ मा नेपालले चारै खेल गुमाएको यो दोस्रो र जितविहीन बनेको तेस्रो सिरिज हो। यसअघि युएई र अमेरिकासँगको सिरिजमा पनि नेपालले चारै खेल गुमाएको थियो।

यो हारसँगै नेपालको लिग-२ को शीर्ष चारभित्र पर्दै सिधै विश्वकप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ। चौथो स्थानमा रहेको ओमानको ३१ अंक छ र उसका अझै ८ खेल बाँकी छन्। नेपालले बाँकी रहेका चारै खेल जिते पनि ओमानले आफ्ना बाँकी सबै खेल हारेको खण्डमा मात्र गणितीय सम्भावना रहनेछ, जुन व्यावहारिक रूपमा असम्भव जस्तै छ।

अब नेपालले आफ्नो एकदिवसीय (ODI) मान्यता जोगाउन र विश्वकप छनोटमा पुग्न आठ टोली सहभागी हुने विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ। सो प्लेअफमा शीर्ष चारभित्र पर्न सकेमा मात्र नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता र विश्वकप छनोट खेल्ने अवसर पाउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट